सहकारी छानबिन समितिले समयमा प्रतिवेदन बुझाउन नसक्ने

सहकारी छानबिन समितिले समयमा प्रतिवेदन बुझाउन नसक्ने

काठमाडौं : सहकारीको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले तोकिएको समयमा प्रतिवेदन नबुझाउने भएको छ। तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठन भएको समितिको म्याद थप्ने तयारी भएको छ।

अपचलन सम्बन्धमा पीडितलाई न्याय दिने गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको समितिको समय सकिन ६ दिन मात्रै बाँकी रहँदा १५ दिन थप गर्न लागिएको हो।

मङ्गलवार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थप सम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ। समितिको म्याद भदौ२२ गते सकिँदैछ।

गत १५ जेठमा गठन भएको समितिले जेल परेका सहकारीका सञ्चालकहरूदेखि तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान लिइसकेको छ।

लामिछाने माथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न विशेष समिति गठन भएको थियो।

बचत फिर्ताका लागि पानीमा रुझ्दै आन्दोलन (भिडियो)

समितिले सोमबार सानाकिसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ। सिंहदरबारमा बसेको समिति बैठकले सानाकिसान कृषि सहकारीले गरिरहेको कामकारबाहीदेखि भोग्नुपरेका समस्याका बारेमा छलफल गरेको जनाएको छ।

बैठकमा २८ जनाले आ–आफ्नो संस्था सञ्चालनको अनुभव र स्थितिको जानकारी गराएका छन्। सो क्रममा उनीहरूले सानाकिसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताए। उनीहरूले कृषिजन्य बस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका छन्।

समिति संयोजक थापाले धेरै असफलताकाबीच सानाकिसान कृषि सहकारीको सफलताले अरूलाई प्रेरणा दिने बताए। छलफलका क्रममा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या देखिएको उनले बताए। हाल देशभर १ हजार ३ सय ६९ वटा सानाकिसान कृषि सहकारी संस्था सञ्चालनमा छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.