फेम्बोसाको अध्यक्षमा नेपाल, भुटानले गर्‍यो हस्तान्तरण

फेम्बोसाको अध्यक्षमा नेपाल, भुटानले गर्‍यो हस्तान्तरण

काठमाडौँ : दक्षिण एसियाली निर्वाचन व्यवस्थापन मञ्च (फेम्बोसा)को नेतृत्व नेपालको निर्वाचन आयोगले पाएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेतृत्व हस्तान्तरण गरेका हुन्।

फेम्बोसाको बुधवार सुरु भएको सम्मेलन उद्घाटनका क्रममा भुटानले नेपाललाई नेतृत्व हस्तान्तरण गरेको हो। काठमाडौँमा सुरु भएको फेम्बोसाको १२ औँ सम्मेलनमा नेपाल, भारत, भुटान, श्रीलङ्का, मालदिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन्।

फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो। सम्मेलन आयोजकले फेम्बोसाको अध्यक्षता ग्रहण गर्दै आएको छ। सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसार्ईँसराई’ केन्द्रित भई छलफल हुनेछ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए। हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने उनले उल्लेख गरे। ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ,’उनले भने,’यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ।’

प्रधानमन्त्री ओलीले बसाइँ सराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजिम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको बताए।

हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अङ्गका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको उल्लेख गरे।

विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जनताको मताधिकारको सम्मान हुने उनले बताए। फेम्बोसा बडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.