‘राउन्ड किक’को प्रतिष्पर्धामा ओली-प्रचण्ड

‘राउन्ड किक’को प्रतिष्पर्धामा ओली-प्रचण्ड

काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वार चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राउन्ड किक हान्दा प्रतिपक्षमा पुगेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रिसाएको अभिव्यक्ति दिन थालेका छन्।

बिहीबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले अब ओलीलाई राउन्ड किक फर्काउने चेतावनी दिए।

उनले प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै भने,‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

१० वर्ष हतियारसहितको युद्ध गरेको माओवादीका अध्यक्ष प्रचण्डले आफूहरूको जनयुद्धलाई हिंसा भनेकोमा आक्रोश पोखे। सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै भण्डाफोर गर्नुपर्ने बताए।

‘जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन्,’प्रचण्डले भने,’तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधान विपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

उनले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको सुनाए। ‘अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेका छन्,’उनले भने,‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो। छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ।’

प्रचण्डले परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध सङ्घर्ष गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले बताए।

अध्यक्ष प्रचण्डले अहिले आफूहरू पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठकबाट सहिदको स्मृति दिवसबारे एकरूपता कायम गर्ने गरी नीतिगत रूपमा व्यवस्था गरिने जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.