निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पलेसाबाट सुरु भयो निःशुल्क स्वास्थ्य परीक्षण

पलेसाबाट सुरु भयो निःशुल्क स्वास्थ्य परीक्षण

410
SHARES

काठमाडौँ : सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए। त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालकाबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो। सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गङ्गालालले आफ्नै श्रोतबाट गर्नेछ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ। सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुने भनिएको छ। कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क स्वास्थ्य परीक्षणको सुरुवात गरिएको हो।

कार्यक्रममा मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखिनै खेलाडीहरूको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट सुरुवात भएको बताए।

प्यारा ओलम्पिकमा ठुलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धिका अवसरमा यो खेलाडीहरूका लागि उपहार भएको मन्त्री पौडेलले बताए।

अर्को वर्ष थप श्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडीहरूको स्वास्थ्य सुधारका लागि अरू थप के गर्न सकिन्छ त्यसका लागि तयार रहेको बताए। ‘पलेशाको उपलब्धिले देशको शिर उँचो बनाएको छ,’उनले भने,‘यो सुरुवात उहाँप्रतिको सम्मान पनि हो।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी बिदेसिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्य मन्त्री पौडेलप्रति आभार प्रकट गरे। ‘यो सक्रियताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद,’उनले भने।

समाचार शेयर गर्नुहोस्
410
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.