"/>

दलहरू मिलेर खान र छुट्टिएर झगडा गर्न माहिर

दलहरू मिलेर खान र छुट्टिएर झगडा गर्न माहिर

काठमाडौं : राजनीतिक दलहरू मिलेर खान र छुट्टिएर झगडा गर्न माहिर बनेका छन्। आलोपालो सत्ता र प्रतिपक्षी बनेका दलहरू एकअर्कालाई आरोपित गर्ने प्रतिस्पर्धामा अब्बल छन्। संसद्को तेस्रो दल माओवादीलाई दुई ठुला दल काँग्रेस र एमाले मिलेर प्रतिपक्षी बनाएका छन्।

भ्रष्टाचारका फाइल खोलेपछि आत्तिएर सत्ता विमुख बनाएको आरोप माओवादीले लगाउँदै आएको छ। लोकतन्त्रको मसिया ठान्ने दलहरूले अरूलाई खानै नदिएको आक्रोश माओवादी सांसद पूर्णबहादुर घर्तीले पोखेका छन्। नयाँ आएका शक्तिलाई ठुला र पुराना दलले हेप्न खोजे अर्को विद्रोह हुने चेतावनी पनि उनले दिए।

यसअघिको सरकारमा सहकारीको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री थिए। अहिले नक्कली भुटानी शरणार्थी काण्डमा आरोप लागेकी आरजु राणा परराष्ट्रमन्त्री, नेपाल स्काउटको जग्गा आरोपी दीपक खड्का ऊर्जा मन्त्री छन्।

अघिल्लो सरकारमा सहभागी लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न बाध्य बनाएको काँग्रेस यतिबेला सत्तामा छ। पहिले रविलाई जस्तै अहिले काँग्रेस उपसभापति समेत रहेका सांसद धनराज गुरुङमाथि सहकारीको १५ करोड अपचलन गरेको आरोप रास्वपाले लगाएको छ।

रास्वपाले सहकारी ठगी गरेको उजुरी परेको भन्दै छानबिनको माग गरेपछि गुरुङले जवाफ दिएका छन्। भूतपूर्व श्रीमतीका कारण तनावमा परेका गुरुङले नक्कली काम गर्नेहरूले अरूलाई पनि नक्कली नै देख्ने गरेको जवाफ दिए।

गुरुङले आफूमाथि पहिला पनि आरोप लागेको र छानबिन समितिबाट गलत प्रमाणित भएको बताउँदै भूतपूर्व श्रीमतीको कारोबारबारे आफू अनविज्ञ रहेको जिकिर गरे।

रास्वपाका सभापति लामिछानेमाथि छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला आफूमाथि अर्को प्रकरण ल्याएर बिषयान्तर गर्न खोजिएको गुरुङले तर्क समेत गरे।

सत्तारुढ नेकपा एमालेले उपसभामुखको राजीनामा माग्दा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काँग्रेस उपसभापति गुरुङसँग बदला लिने रणनीति बनाएको छ।

लामिछानेले आफ्ना बिजनेस पार्टनर जीवी राई बेपत्ता भएको जिम्मा लिनुपर्ने भनेको काँग्रेसका उपसभापति गुरुङले भूतपूर्व श्रीमतीको जिम्मा नलिने अभिव्यक्ति दिएपछि रास्वपाकी सांसद विनीता कडायतले आफ्ना सभापति लामिछानेसँग तुलना गरेर हेर्न सुझाएकी छन्।

रास्वपा सभापति लामिछानेलाई पोखराका सहकारी पीडितहरूले भने कालो झन्डा देखाएका छन्। यसअघि मकैको खोया उपहार पाएका लामिछानेलाई पार्टीको प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मङ्गलवार पोखरा पुग्दा सहकारी पीडितहरूले कालो झन्डाले स्वागत गरे।

लामिछानेले सोमबार मात्रै धनगढीमा आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट अवैध रूपमा लगानी भित्रिएको स्वीकार गरेका थिए।

काँग्रेस उपसभापति गुरुङ भूतपूर्व श्रीमती र रास्वपा सभापति लामिछाने जीवी राईलाई देखाएर उम्कने प्रयासमा लागेको प्रस्टै देखिएको छ। लामिछानेले गोर्खा मिडियामा गएको सहकारीको रकमको जिम्मा आफ्नो नभएको बताए।

सहकारी प्रकरणमा लामिछानेसँग संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ। कास्की प्रहरीले पनि काठमाडौँमै पुगेर लामिछानेसँग बयान लिएको थियो। यहीबीचमा लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन्।

उपसभामुखलाई मार्ग प्रशस्त गर्न सुझाव

राजनीतिक दलका नेताहरूको काण्ड सहकारी, नक्कली भुटानी शरणार्थी, सुन तस्करीमा मात्रै सीमित छैन। उपसभामुख इन्दिरा रानाले लेटरप्याड दुरुपयोग गरेर आफूले समेत नचिनेका मान्छेलाई अमेरिकी भिसा दिन भनेको विषय तातेको छ।

सत्ता गठबन्धनले आरोप लागेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई सुझाव दिएको छ भने प्रतिपक्षी माओवादी र रास्वपाले उपसभामुखबाट हटाए प्रतिवाद गर्ने धम्की दिएका छन्।

उपसभामुख रानालाई हटाउने सत्ता गठबन्धनको तयारीलाई रास्वपा प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रमाथि आक्रमण हुन लागेको भनेर तुलना नै गरेका छन्।

सत्तारुढ काँग्रेस र एमालेले संवैधानिक परिषद्मा सहजता खोज्दा उपसभामुख रानालाई हटाउन खोजेको आरोप रास्वपाले लगाएको छ। एमालेसँगको सत्ता साझेदारी हुँदा रास्वपाबाट उपसभामुख बनेकी राना सन् २०२३ फेब्रुअरी २६ मा आफूसहित ६ जनाको भिसा मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखे पछि विवादमा परेकी हुन्।

७० करोडको अडियो काण्डपछि संचारमन्त्रीबाट राजीनामा दिएका एमाले सांसद गोकुल बास्कोटाले उपसभामुखको यही कदमलाई आचरणविपरीत भनेका छन्। उनले मार्ग प्रशस्त गर्दैमा लोकतन्त्र धरापमा नपर्ने बताउँदै आफूले जस्तै नैतिकता देखाउनु सुझाव दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोजे आफूहरूले प्रतिवाद गर्ने बताए। सत्तामा भएका यसअघिका थुप्रै व्यक्तिहरूको नैतिकतामा पनि प्रश्न उठेको भन्दै उनले राजीनामा दिन तयार हो? भन्दै प्रश्न गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई ‘राउन्ड किक’ हानेको भनेको उल्लेख गर्दै अहिले त्यही राउन्ड किक उपसभामुखमाथि प्रयोग गर्न खोजिएको उनले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.