सेनापति सिग्देलको पहिलो निर्देशन : ढिलासुस्ती, अनभिज्ञता र अनियमितता अस्वीकार्य

सेनापति सिग्देलको पहिलो निर्देशन : ढिलासुस्ती, अनभिज्ञता र अनियमितता अस्वीकार्य

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गीअड्डास्थित सभा मण्डपमा सकलदर्जालाई पहिलो पटक सम्बोधन गरेका छन्। आफ्ना प्राथमिकताहरू र आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जालाई उनले निर्देशन दिए।

नेपालको संविधानद्वारा प्रदत्त जिम्मेवारीहरू नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको प्रधानसेनापति सिग्देलले बताए।

राष्ट्रमा आइपर्ने जटिल समस्याहरूको समाधान गर्न राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति भएको उनले उल्लेख गरे। नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच २०८७ लगायतलाई आधार मानी सङ्गठनको सुदृढीकरण गर्दै लगिने उनले बताए।

राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्यहरू समावेश गरी “प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०८१” जारी हुने जानकारी उनले दिए।

राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरूको क्षमता सुदृढीकरण मार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरूको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमा नै सञ्चालनमा ल्याइने प्रधानसेनापति सिग्देलले प्रतिबद्धता जनाए।

विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्‍याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने, नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरूको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उनले जानकारी गराए।

राष्ट्रियहित र सुरक्षालाई केन्द्रबिन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने, सबै भन्दा माथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउने भन्दा पनि समग्र संस्थाको हितको लागि कार्य गर्न, सही नियतले काम गर्न नडराउन तर, कसैले व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा र आपसी विश्वासमा कमी ल्याउने तथा संस्थाको तेजोवध गर्ने प्रकृतिका कार्यहरू गरेको पाइएमा क्षम्य नहुने, पहिलो र अन्तिम तथा एक मात्र मूलमन्त्र भनेको “सैनिक अनुशासन र सैनिक मर्यादा” रहेको उनले उल्लेख गरे।

प्रधानसेनापति सिग्देलले ऐतिहासिक अनुभवलाई समेत आत्मसात् गर्दै भूगोल सुहाउँदो सैनिक ज्ञान, सिप र युद्धकला क्षमता वृद्धिको लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन समय सापेक्ष सुधार गरिने बताए।

शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरूको व्यवस्थापनमा विशेष पहल गरिने, नेपाली सेनाले राष्ट्रिय खेलकुद विकासमा महत्त्वपूर्ण योगदान दिदैं आइरहेकोमा खेलकुद विकासलाई प्राथमिकतामा राखिने, नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादन लगायतका कार्यहरूलाई व्यवस्थित गर्दै लगिने उनले बताए।

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग लगायत अन्य सडक करिडोरहरुको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती, अनभिज्ञता, अनियमितता लगायतका क्रियाकलापहरू अस्वीकार्य हुने प्रधानसेनापति सिग्देलको भनाई थियो।

नेपाली सेनाको कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउँदै लगिने, कक्षा ४ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सकल दर्जाको एक सन्ततिलाई प्रदान गरिदैं आएको छात्रवृत्ति रकममा ५ हजार रुपैयाँ थप गरी वार्षिक २५ हजार रुपैयाँ कायम गरिने उनले सुनाए।

पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरूलाई प्रदान गरिदैं आएको कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० रुपैयाँ दरले थप गरिने,नेपालमा विपद्का कारण हुने धनजनको क्षतिलाई मध्यनजर गरी नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्दै लगिने जानकारी उनले दिए।

नेपाल सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरुलाई बहिरङ्ग उपचारको वार्षिक सीमा पुनरावलोकन गरिने, विगत द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने उनले पहिलो सम्बोधनमा उल्लेख गरे।

अवकाशपछि पनि आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउने उद्देश्यका लागि नेपाल सरकारका अन्य निकायसँग समन्वय र साझेदारी गरी विज्ञसहितको टोलीबाट थप क्षेत्रहरू पहिचान गर्दै व्यावसायिक र सिपमूलक तालिमलाई विस्तार गरिने, तहगत रूपमा तैनाथ कमान्डरहरू द्वारा आ-आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने, आगामी दिनमा राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न नेपाली सेना र सञ्‍चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने उनले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.