ब्लु डायमन्डकी अध्यक्ष पिंकीको अभिव्यक्तिमा बोर्डले जनायो आपत्ति

ब्लु डायमन्डकी अध्यक्ष पिंकीको अभिव्यक्तिमा बोर्डले जनायो आपत्ति

काठमाडौँ : नेपालमा पहिलो पटक समावेशी (रेन्बो) पर्यटन सम्भाव्यताबारे भएको राष्ट्रिय परामर्शबारे नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरुङको अभिव्यक्ति प्रति नेपाल पर्यटन बोर्डले आपत्ति जनाएको छ।

गत वर्ष माघ २०८० मा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले आयोजना गरेको राष्ट्रिय परामर्शमा चिया बिस्कुट खुवाएर ८ लाख ५० हजार खर्च गरेको भन्ने गुरुङको अभिव्यक्तिमा बोर्डले आपत्ति जनाएको हो।

पिंकीले सामाजिक सञ्जालको ग्रुपमा तीज कार्यक्रममा १२ लाख खर्च गरेर समुदायका सदस्यलाई खाना खुवाएको तर,पर्यटन बोर्डमा भएको कार्यक्रममा चिया बिस्कुट खुवाएर ८ लाख ५० हजार सकेको गैरजिम्मेवार अभिव्यक्ति दिएकी थिइन।

ब्लु डायमन्ड सोसाइटीको सदाबहार अध्यक्ष रहेकी पिंकीको अडियो पाएको बोर्डले पिंक टुरिजम प्रवर्द्धनका लागि छुट्टै बजेट कतैबाट नआएको प्रस्ट पारेको छ। ‘त्यो कार्यक्रम गर्न छुट्टै बजेट थिएन,कार्यक्रम गर्नुहुन्छ भने हल दिन सक्छौ, खाजा खुवाउन सक्छौ मात्रै भनेका हौँ,’बोर्डका एक अधिकारीले पहिचानसँग भने,’कतैबाट छुट्टै रकम आएको थिएन,प्रोजेक्ट पनि थिएन।’

नेपाल विश्वभरका एलजीबीटीआइको सुरक्षित गन्तव्य, स्वागत गर्न तयार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि युएनडिपीको सहयोगमा ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको बोर्डले त्यसको केही महिनापछि पिंक टुरिजम प्रमोसनका लागि राष्ट्रिय परामर्श गरेको थियो। बोर्डले समावेशी (रेन्बो) पर्यटनका लागि सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत पनि नियुक्त गरेको थियो।

आफूमाथि लागेको अनियमितताको आरोप ढाकछोप गर्न र समुदायलाई एक ढिक्का हुन नदिन अनेक फण्डा अपनाउँदै आएकी पिंकीको यो अर्को गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको हो। ‘नत्र यसरी बरबराउनु पर्ने थिएन,तीज प्रोग्राममा लाखौँ खर्च गरेकोमा समुदायका सदस्यले प्रश्न उठाएपछि पिंकीमा छटपटी भएको हो,’स्रोतले भन्यो,’समुदायको हक अधिकारको कुरा गरेर कमाऊ धन्दा चलाएको प्रस्ट भएको छ।’

दातृ निकायले समुदायका लागि दिने अनुदान आफ्नै पेवा जस्तो गरेर समुदायका सदस्यलाई भुलभुलैयामा पार्ने गरेको समुदायका एक सदस्यले बताए। ब्लु डायमन्डको वर्तमान नेतृत्वले अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ। त्यसको छानबिन चलिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। आयोगले सोसाइटीको पारदर्शितामा छानबिन गरिरहँदा पिंकी एक पछि अर्को अनियमिततामा मुछिएकी छन्।

भरखरै मात्र नेपाली हिन्दु महिलाहरूको पर्व तीज कार्यक्रम राखेर दातृ निकायको अनुदानमा १२ लाख भन्दा बढी खर्च गरेकी पिंकीले आफूले भ्रष्टाचार नगरेको बताएर समुदायको आँखामा छारो हाल्ने प्रयास जारी राखेकी छन्। तेस्रो लिङ्गी महिला क्रिष्टिनाको निधन भएको हप्ता दश दिन नपुग्दै गुरुङले खानपान गराएर १२ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको स्वीकारेकी छन्।

यो खर्च समाचार लेख्नु पर्ने विषय नभएको भन्दै उनले भनेकी छन्,’दातृ निकाय जति दियो त्यति खर्च गरेको हो,भ्रष्टाचार गरेको छैन क्यारे,बरु पर्यटन बोर्डमा भएको सम्मेलनमा ८ लाख ५० हजार रुपैयाँ चिया बिस्कुट खाएर सकेको होइन? खोइ समाचार बनाएको?’

यसबारे सम्पर्क गर्दा पर्यटन बोर्डले पिंकीको यस्तो अभिव्यक्ति पूर्वाग्रहपूर्ण रहेको बताएको छ। ‘ट्रेकिङ गाइड तालिमका लागि मात्र युएनडिपीले सहयोग गरेको हो,त्यसमा ब्लु डायमन्ड नै संलग्न थियो,’पर्यटन बोर्डका अधिकारीले भने,’त्यसपछि एलजीबीटीआईको नाममा कार्यक्रम गर्न भनेर कतैबाट पनि रकम आएको छैन।’

दातृ निकायले एउटा शीर्षकमा दिने अनुदान कमिसन पाउने अर्को कार्यक्रममा खर्च गर्ने आरोप पिंकीमाथि लागेको छ। आर्थिक अवस्था कमजोर भएका समुदायका सदस्य स्व.क्रिष्टिनाको परिवारलाई सहयोग गर्नुको सट्टा सिल्भर ओक ब्याङकेटमा नाचगान गरेर लाखौँ उडाउने पिंकीको समुदायकै सदस्यहरूले चर्को आलोचना गरेका छन्।

आफूमाथि आलोचना बढ्दै गएपछि उनले अरूमाथि बनावटी आरोप लगाउन थालेको पाइएको छ। समुदायका सदस्यले पिंकीका कर्तुत उजागर गर्न थालेपछि उनी अरू सङ्घ संस्था र निकायहरूलाई देखाएर उम्कने प्रयासमा लागेकी हुन्। नयाँ शक्ति पार्टीमा हुँदा रसुवाको एक जलविद्युत आयोजनाको सेयर बिक्रीबारे सदस्यहरूलाई गुमराहमा राखेकी उनले आफूविरुद्ध लागेको आरोप ढाकछोप गर्ने जुक्ति निकालिरहेकी छन्।

रोगी बनाएर जोगी बनाउने पिंकीले मिडियामा सूचना दिनेलाई कारबाहीको धम्की समेत दिएको स्रोतले बताएको छ। लाजिम्पाटमा रहेको केयर एन्ड सपोर्टमा बुधवार बैठक बसेर उनले धम्की दिएको एक सदस्यले बताए।

समाचार लेख्ने पत्रकारलाई फोन गरेर सम्झाउनु,नभए भेट्न जानु, थर्काउनु भनेर उनले उर्दी जारी गरेको ती सदस्यले बताए। अर्का एक सदस्यका अनुसार आफूविरुद्ध आउने समाचार सामाजिक सञ्जालमा पोस्ट भए रिपोर्ट गर्न उनले सर्कुलर नै गरेकी छन्।

क्रिष्टिनाको निधनसम्बन्धी समाचारमा तीज प्रोग्रामको खर्च किन लेख्नु पर्ने थियो? भनेर पिंकीले गुण्डागर्दी शैली अपनाउनु परे पनि पछि नहट्न भनेको ती सदस्यले बताए। उनको उर्दीपछि केही व्यक्तिहरूले समाचार लेख्ने पत्रकारलाई फोन गरेर धम्की समेत दिएका छन्।

ब्लु डायमन्ड सोसाइटी सन् २००१ मा स्थापना भएको हो। सुनिलबाबु पन्तले नेतृत्व सम्हाल्दासम्म कोरफण्ड मार्फत लाजिम्पाट र धुम्बाराहीमा दुई वटा भवन बने। चाल्नाखेलमा सोसाइटीले आफ्नो नाममा जग्गा खरिद गर्‍यो। दुई वटा गाडी थिए। तर, पन्तको बहिर्गमन पछि कोरफण्ड नाम मात्रको रहेको छ भने दुवै गाडी त्यतिकै थन्क्याएको छ।

नयाँलाई सदस्यता समेत नदिने र भएका सदस्यले आफूविरुद्ध बोल्न थाले निकाली दिने पिंकीको हर्कतले आजित बनेको समुदायका सदस्यहरूले बताए। पन्तले नेतृत्व सुम्पेको एक दशकमा दातृ निकायको अनुदान नआए संस्थाको नाममा भएको भवन नै लिलाम गराएर भाग्ने दाउमा वर्तमान नेतृत्व रहेको समुदायका सदस्यले बताए।’ कोरफण्डमा पैसा राख्न त परको कुरा,समुदायलाई सहयोग गर्ने त आकाशको फल आँखा तरी मर भने जस्तै हो,’समुदायका एक सदस्यले भने,’बिहान बेलुकाको छाक टार्न यौन पेसा अपनाउनु परेको छ,सडकमा हामी उभिएको देखाएर उनीहरू (ब्लु डायमन्डको वर्तमान नेतृत्व) अनुदान ल्याएर आफ्नो पेट भरिरहेका छन्।’

सम्बन्धित समाचार :

ब्लु डायमन्ड सोसाइटीको सार्वजनिक सुनुवाइ जिरो, अनियमितताको उजुरीमा छानबिन जारी

ब्लु डायमन्ड सोसाइटीको अपारदर्शी यात्रा, अख्तियारले थाल्यो छानबिन

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

अनुदान सहयोगको प्रयोजनबारे अमेरिकी दूतावासले गर्‍यो सोधखोज

पिंकीको नगद उठाउने काइदा, शेयर बिक्री गर्ने कम्पनी गायब

हर्मोन खादाँ क्रिष्टिनाको ३१ वर्षकै उमेरमा निधन, परिवार पीडामा

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.