राष्ट्रिय ध्वजावाहकको साख जोगाउन आवश्यक

राष्ट्रिय ध्वजावाहकको साख जोगाउन आवश्यक

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत आठ देशका दश गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको हो। विसं २०१५ असार १७ मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गर्दै आएको छ।

देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथि बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पुर्‍याएको योगदान स्मरणीय छ। निगमले कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको थियो।

अन्तर्राष्ट्रिय विमान सेवासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा सोही अनुसारको सेवा सुविधा भने कर्मचारीहरूलाई दिन नसक्दा पाइलट र इन्जिनियरहरू बाहिरिइरहेका छन्।

आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पुर्‍याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनीय भूमिका निर्वाह गरेको छ।

निगमले व्यावसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गरेको छ। सरकारको शतप्रतिशत लगानी रहेको सेवा क्षेत्र अन्तर्गतको यो अबिछिन्न उत्तराधिकारीवाला एक सङ्गठित संस्था हो।

देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनसँगै सरकारी स्वामित्वका कतिपय संस्थाहरू धराशायी हुँदा पनि आफ्नो व्यावसायिक क्षमतालाई निगमले थप उचाइमा पुर्‍याउने प्रयास जारी राखेको छ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ। विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन नेपाल एयरलाइन्सको उपस्थिति हुनु अनिवार्य छ।

नेपाल एयरलाइन्सको पहुँच बढाएर व्यापक रूपमा प्रचार गर्ने हो भने विदेश पर्यटक नेपाल भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न सकिने सरकारका मन्त्री प्रधानमन्त्रीले बताउँदै आएका छन्। तर, राष्ट्रिय ध्वजावाहकलाई युरोपियन मुलुकको आकाशमा कालोसूचीमा राखिँदा गतिलो सन्देश पुगेको छैन। युरोपियन मुलुकको ठुलो बजार हिस्सा नै नेपालले गुमाएको छ।

सन् २०२३ मा निगमले गरेका काम

राष्ट्रिय ध्वजावाहक निगमले क्यान्सर बिरामी तथा उनीहरूको कुरुवाका लागि सन् २०२३ मा ७७० जनालाई पूर्ण तथा आंशिक रूपमा हवाई टिकटमा छुट दिएको छ।

ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हवाई टिकट दरमा ५० प्रतिशत सहुलियत प्रदान गर्दै आएको छ। निगमको जहाजले इजरायल तथा हमासबीच भएको द्वन्द्वका कारण सिर्जित विषम परिस्थितिका कारण अलपत्र परेका विद्यार्थीसहित २५४ जना नेपाली नागरिकहरूको उद्धार गरिएको जनाएको छ।

जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गाएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका घाइतेहरूलाई निगमको विमानमार्फत नेपालगन्ज तथा काठमाडौँसम्मका लागि निःशुल्क उद्धार उडान गरेको थियो। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त राहत सामग्री रुकुम सम्म निःशुल्क ढुवानी गरिएको निगमले उल्लेख गरेको छ।

दुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीप बहादुर रावतको उद्धारका लागि निगमद्वारा आकस्मिक उडान गरिएको बताएको छ।

मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेर अलपत्र परेका चिकित्सकहरूलाई निगमको जहाज तत्काल पठाइएको, महाशिवरात्रिको अवसरमा नेपाल वायुसेवा निगमद्वारा पशुपति परिसरमा श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण गर्ने गरिएको, बाढी पीडितका लागि नेपालगन्ज–धनगढी–डोटी–धनगढी–नेपालगन्ज उद्धार उडान सञ्चालन गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.