अवरोध हटेकै दिन संसद्को चालु अधिवेशन अन्त्य

अवरोध हटेकै दिन संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं : संसद्को अवरोध हटेकै दिन चालु अधिवेशन अन्त्य भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले हिंसा शब्दलाई लिएर अवरोध गरेको संसद् खुलाएकै दिन अन्त्य भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सङ्घीय संसद्का चालु अधिवेशन अन्त्य गरेका छन्। चालु अधिवेशनको अन्तिम बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिका जादैछन्। उनले नेपालको शिर झुक्ने गरी कुनै पनि काम नगर्ने बताए।

हिंसा शब्दलाई लिएर सदन अवरोध गर्दै आए पनि अन्तिम बैठक चल्न दिएको माओवादीले संविधानले नै सशस्त्र सङ्घर्ष भनेर व्याख्या गरिएको जनयुद्धलाई सत्तारुढ दलका सांसदले हिंसा भन्नु कुनै पनि हिसाबले उपयुक्त नरहेको निष्कर्ष सुनाएको छ। जवाफ प्रधानमन्त्री ओलीले पाँचथरमा बम विस्फोट भएर मृत्यु भएकाहरूलाई के भन्ने भनेर प्रश्न गरे।

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीबारे प्रधानमन्त्री ओलीले संसद्मा प्रस्ताव नै नआएको र छलफल पनि नभएको विषयलाई उचालेर ठुलो हल्लाखल्ला गरिएको बताए। उनले संसद्मा प्रश्न गर्न र बोल्न पाइने भए पनि गालीगलौजको तहमा उत्रिएर प्रस्तुत हुनु गलत भएको बताए।

संसद्को बर्खे अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो। यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ। जसमध्ये ५ वटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेका सचिवालयले जनाएको छ।

लगातार १० वटा बैठकमा अनुपस्थित हुने १४ सांसदहरूको नामावली सार्वजनिक गरिएको छ। सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन्।

अनुपस्थित हुने सांसदहरूमा गीता बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, कालुराम राई र नारायणप्रकाश साउद छन्।

संसद् सचिवालयका अनुसार चार जना सांसदहरू भने अधिवेशनभरि ५६ बैठकमा अनुपस्थित रहेका थिए। राप्रपाका दीपक बोहरा, काँग्रेसकी अम्बिका बस्नेत, मनोरमा शेरचन र एमालेका वसन्तकुमार नेम्वाङ स्वास्थ्य समस्याका कारण ५६ वटा बैठकमा सहभागी नभएका हुन्।

राष्ट्रियसभाले चालु अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ। त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणीकरण समेत भइसकेका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ र लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ (अध्यादेश प्रतिस्थापन) रहेका छन्।

हाल मिडिया काउन्सिल विधेयक २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ।

नेपाल विश्वविद्यालय विधेयक, २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुने क्रममा छ। सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पनि प्रतिनिधिसभामा पठाइएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.