२४ घण्टाभित्र चाडपर्व केन्द्रित कार्ययोजना पेस गर्न वायु सेवाको निर्देशन

२४ घण्टाभित्र चाडपर्व केन्द्रित कार्ययोजना पेस गर्न वायु सेवाको निर्देशन

काठमाडौं : नेपाल वायुसेवा निगमले चाडपर्वको समयमा नियमित उडान सुचारु राखी यात्रुलाई सहज सेवा दिन २४ घण्टाभित्र साठी दिने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

निगमले आगामी बडादशै, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा दिने सेवाबारे साठी दिने कार्ययोजना स्पष्ट रूपमा पेस गर्न निर्देशन दिएको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तदारुकताका साथ काम गर्न निगमका नायव महाप्रबन्धक (प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई विशेष निर्देशन दिनुभएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उनले अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रस्ट निर्देशन दिएका छन्। उक्त अवधिमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा बाधा पर्ने गरी बिदा नदिन समेत अध्यक्ष अधिकारीले भनेका छन्।

निगमका विभिन्न विभागहरूले सरकारलाई निगमको समय सङ्गठनात्मक तथा वित्तीय अवस्थामा सुधार गर्न वर्तमान ऋण पुनर्संरचना गरी नेपाल सरकारको सहयोगमा सहुलियत ब्याजदर भएको ऋण खोजी थप जहाज खरिद गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखी कार्य गर्नुपर्ने सुझाव दिएका छन्।

राष्ट्रिय ध्वजावाहक निगमको चुक्ता पुँजी बढाई निगमको पुँजी संरचनामा सुधार गर्दै सन्तुलित बनाउने र विदेशी मुद्रा आर्जनमा निगमको अग्रणी भूमिकालाई प्रवर्द्धन गर्न पर्यटकीय मुलुकमा गन्तव्य विस्तार गर्न निगमका विभिन्न विभागले सुझाव दिएका छन्।

मुलुकको परिवर्तित शासकीय ढाँचा अनुरूप आर्थिक समृद्धिमा विशेष योगदान पुर्‍याउन सक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न नेपाल वायुसेवा निगम ऐन, २०१९ को समयानुकूल संशोधन गरी राष्ट्रिय ध्वजावाहक रूपमा निगमको भूमिका र हित संरक्षणमा विभिन्न ऐन नियम कानुनमा थप स्पष्टता ल्याउन विभागहरूले सरकारलाई भनेका छन्।

ग्राउन्ड ह्याडलिङ सम्बन्धमा स्पष्ट दीर्घकालीन सोचको अभाव रहेको हुँदा राष्ट्रिय ध्वजावाहकको भूमिकामा निगमले ग्राउन्ड ह्याडलिङ सञ्चालन गर्ने सम्बन्धमा नेपाल वायुसेवा निगमको भूमिका स्पष्ट हुने गरी जस्तै २०/२५ वर्षको लागि हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने विभिन्न विभागले सुझाव दिएका छन्।

सार्वजनिक खरिद ऐन २०६३ बमोजिम निगमको जहाज खरिद सम्बन्धी कार्यविधि बनाई जहाज खरिद प्रक्रिया व्यवस्थापन नीतिगत रूपमै सम्बोधन गर्ने र निगमको खरिद कार्यविधि, आर्थिक प्रशासन सम्बन्धी विनियमावली छुट्टा छुट्टै बनाउन निगमका विभागले सरकारलाई सुझाव दिएका छन्।

निगमले सरकारलाई यो सुझाव दिएको एक वर्ष बितेको छ। तर, सुझाव कार्यान्वयन हुन सकेको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.