अपाङ्गता भएका इजरायली पर्यटकको नेपाल घुम्ने रहर, गए जोमसोम

अपाङ्गता भएका इजरायली पर्यटकको नेपाल घुम्ने रहर, गए जोमसोम

काठमाडौं : अपाङ्गता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

नेपाल स्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको टोलीलाई इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे।

सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ।

बुधवार काठमाडौँबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौँ फर्किने तालिका रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

अपाङ्गता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए। ‘हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री ट्रेल निर्माण गरेका छौँ। यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस् भन्ने कुरामा जोड दिएका छौँ,’उनले भने,‘जसले नेपाल सवलाङ्गका लागि मात्र नभई अपाङ्गताहरूका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ।’

विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख गर्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे। ‘नेपाल प्रकृतिको अनुपम उपहार हो। यो देश साँच्चिकै सुन्दर छ। यहाँको कला संस्कृति, परम्परा, प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ,’उनले भने,‘विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकहरूको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ।’

नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।

पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपाङ्गता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए। ‘इच्छाशक्ति र आत्मविश्वास सबैभन्दा ठुला कुरा हो।जुन इच्छाशक्ति र आत्मविश्वासले तपाईँहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित गर्‍यो,’उनले भने,‘यसले अपाङ्गता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ।’

इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो।

सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगस्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.