नेपालमा दूतावास स्थापना गर्न क्यानडा सकारात्मक, डिसेम्बरमा द्विपक्षीय वार्ता गर्ने

नेपालमा दूतावास स्थापना गर्न क्यानडा सकारात्मक, डिसेम्बरमा द्विपक्षीय वार्ता गर्ने

काठमाडौँ : नेपाल सरकारले क्यानडालाई दूतावास स्थापना गर्न आग्रह गरेको छ। नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडाली समकक्षी मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन क्यानडामा छिन्।

क्यानडाको ओटावामा राणा र मेलानीबीच भएको वार्ताका क्रममा दूतावास स्थापना गर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ। त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरू पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरू आदानप्रदान भइरहेको छ,’मन्त्री राणाले भनिन्,’त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।’

उनले एसियाका दुई ठुला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर सोचिदिन विदेशमन्त्री जोलीसमक्ष आग्रह गरिन्।

विदेशमन्त्री जोलीले नेपालमा क्यानडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएकी छन्। हाल क्यानडामा नेपालीको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपाली इमानदार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरूको कामका कारण आफूले पाएको सुनाइन।

अतिकम विकसित राष्ट्रका रूपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरूलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ। नेपाल सन् २०२६ मा एलडिसीबाट ग्र्याजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री राणाले बताइन।

मन्त्री राणाले जलविद्युतका क्षेत्रमा लगानी गर्न पनि क्यानडालाई आग्रह गरिन। जलविद्युतका क्षेत्रमा विगत लामो समयदेखिको अनुभव र विज्ञता नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेर देखाउन आग्रह गरेको मन्त्री राणाको निजी सचिवालयले जानकारी दिएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेसँगै शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले गराइन। उनले नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठुलो देश रहेको स्मरण गराइन।

उनले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरहेकामा ६०८ जना महिला रहेको जानकारी दिइन।

राणा र जोलीबीचको भेटमा आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता गर्ने सहमति भएको छ। वार्तामा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सहमति भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।

नेपाल क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठ आगामी वर्ष मनाइदैछ। सोही अवसरमा पर्यटन र शिक्षासम्बन्धी समझदारीमा हस्ताक्षर हुने गरी काम गरिने सहमति पनि यो दुई देशका परराष्ट्रमन्त्रीहरुबीच भएको छ।

उनले महिला सशक्तीकरणका क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिन आग्रह गरिन। क्यानडाली विदेशमन्त्री जोलीले ‘फेमिनिस्ट फरेन पोलिसी’ मा मिलेर अघि बढ्न गरेको आग्रहमा परराष्ट्रमन्त्री राणाले सहमति जनाएकी छन्।

क्यानाडेली पेन्सन फन्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानडा सरकार तयार रहेको विदेशमन्त्री जोलीले बताइन। उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानडाले सहयोग गर्ने प्रतिबद्धता जनाइन।

नेपालमा डिजिटल मार्केटिङ र इ‐गभर्नेन्सका क्षेत्रमा सहयोगका लागि मन्त्री डा राणाले गरेको प्रस्तावमा आपसी सहयोगका साथ अघि बढ्ने प्रतिक्रिया क्यानडाली विदेशमन्त्री जोलीले दिइन।

मन्त्री डा राणाले क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल सहभागी वार्तामा क्यानडाली विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.