घटस्थापनाको एक हप्ता अघि अग्रिम टिकट बुकिङ

घटस्थापनाको एक हप्ता अघि अग्रिम टिकट बुकिङ

काठमाडौं : सरकार र यातायात व्यवसायीबीच सात बुँदे सहमति भएको छ। सहमति अनुसार भाडा समायोजन छठपछि मात्रै हुने भएको छ। दशैंको अग्रिम टिकट बुकिङको मिति घोषणा नगरे पनि घटस्थापनाको एक हप्ता अगाडि असोज १० गतेदेखि खुलाउने तयारी भएको छ।

सरकारले दशैं सुरु हुन हप्ता दिन अगाडी नै अग्रिम टिकट बुकिङ खोल्ने गरी तयारी अघि बढाएको हो। सोही अनुसार देशभर सर्कुलर गर्नुपर्ने भएकाले आइतबार (भोलि) नै यातायात व्यवसायी राष्ट्रिय महासङ्घको पदाधिकारी बैठक बस्न लागेको अध्यक्ष विजय स्वाँरले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल, यातायात व्यवस्था विभागका प्रतिनिधिसहित बसेको बैठकमा सात बुँदे सहमति भएको अध्यक्ष स्वाँरले जानकारी दिए। सहमतिमा घटस्थापना अघि नै बाटो मर्मत सम्भार गरिसक्ने, बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउने उल्लेख छ।

रात्रि सवारी सञ्चालन नगर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमतिमा उल्लेख गरिएको अध्यक्ष स्वाँरले बताए। घटस्थापना अगावै सडक मर्मत गरिसक्न सडक विभागलाई यातायात मन्त्री दाहालले निर्देशन दिएका छन्।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्दै तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, तथा यातायात व्यवस्थापनसँग सम्बन्धित सर्वोच्च अदालतका फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार पार्ने सहमति पनि भएको छ। भाडा समायोजन भने छठ पछि मात्रै हुने अध्यक्ष स्वाँरले बताए।

चाडपर्व नजिकिएसँगै सुरक्षाकर्मीको आँखा छलेर अवैध रूपमा भारतबाट पटकाहरू भित्रिन थालेका छन्। सुरक्षा निकायले अवैध रूपमा कुनै पनि सामान नेपाल भित्रिन नदिन नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको दाबी गरेको छ।

पटका ओसारपसार लगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी लगायतका निकायसँग समेत समन्वय भइरहेको नेपाल सशस्त्र प्रहरी बलले जनाएको छ। शनिवार मात्रै सशस्त्र प्रहरीले झन्डै ४ लाख मूल्य बराबरको पटका मोरङबाट बरामद गरेको छ।

तीन जनाले टाउकोमा बोकेर पटका नेपाल ल्याउँदै गर्दा सुरक्षाकर्मीको गस्ती टोली देख्नासाथ पटका छाडेर भागेका छन्। बरामद गरिएको ३ लाख ९१ हजार ५ सय रुपैयाँ बराबरको पटका नष्ट गर्ने प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा विभिन्न नाकाबाट अवैध रूपमा सामानहरू भित्रिने गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.