दमकमा तेस्रो लिङ्गीहरूले सञ्चालन गरे ‘इन्द्रेणी सेवारो’

दमकमा तेस्रो लिङ्गीहरूले सञ्चालन गरे ‘इन्द्रेणी सेवारो’

झापा : कोशी प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउन आर्थिक सहयोग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु वर्ष व्यवसाय सञ्चालनका लागि तीन वटा गैरसरकारी संस्थालाई १०१० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

मन्त्रालयले व्यवसाय सञ्चालनका लागि २० जना तेस्रो लिङ्गीहरूलाई तालिम दिन छुट्टै सहयोग गरेको जनाएको छ। तालिम लिएका तेस्रो लिङ्गीहरूले झापा, मोरङ र सुनसरीका तीन वटा नेपाल गैरसरकारी संस्थाको समन्वयनमा व्यवसाय सञ्चालन गर्नेछन्।

लिड नेपालको समन्वयनमा झापाको दमकमा इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा आएको छ। मोरङ र सुनसरीमा सञ्चालनको तयारी भएको मन्त्रालयको सामाजिक विकास महाशाखाले जनाएको छ।

कोशी प्रदेश सरकार समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिंगी व्यक्तिहरूलाई आत्मनिर्भर हुने बाटोमा लगाउन अग्रसर देखिएको छ। सातै प्रदेशमा कोशी प्रदेशले तेस्रो लिङ्गीहरूको आत्मनिर्भरताका लागि चालु वर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको महाशाखा प्रमुख महिला विकास अधिकृत दुर्गा बरालले जानकारी दिइन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई व्यवसायमा बानी बसाउन तीन वटा संस्थालाई सिड मनी १०१० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन। ‘मोरङ र सुनसरीमा सञ्चालनको तयारी गर्दैछौ भन्ने खबर आएको छ,’उनले भनिन्,’झापाको दमकमा उद्घाटन भएको खबर आएको छ,बाहिर परेकाले जान पाइएन।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आत्मनिर्भरताका लागि गरेको सहयोगबारे समीक्षा हुने बताइन। ‘तालिम प्राप्त गरेका छन्, व्यवसाय सञ्चालन गरिरहेका छन्,’उनले भनिन्,’के परिवर्तन आयो? र अब के गर्न सकिन्छ भनेर समीक्षा गर्छौ।’

कोशी प्रदेशमा सकारात्मक परिवर्तन आएमा अरू प्रदेशले पनि सुरु गर्न सक्ने उनले बताइन। मन्त्रालयले संस्थासँग सम्झौता गरी सहयोग गरेको जनाएको छ। तेस्रो लिङ्गी व्यक्तिहरूलाई आर्थिक रूपमा जीविकोपार्जन गर्नका लागि दमकमा सञ्चालन भएको खाजा घरको नेतृत्व लिड नेपालले गरेको छ। उसले खाजा घरमा तेस्रो लिङ्गीहरूलाई काम दिएको छ।

दैनिक सञ्चालनमा आउने होटल, श्रृङगार जस्ता पेसामा समुदायलाई व्यावसायिक बनाउन मन्त्रालयले आर्थिक सहयोग दिन थालेको हो। ‘यो सुरुवात हो,बानी बसाल्नै गाह्रो,प्रमुख महिला विकास अधिकृत बरालले भनिन्,’राम्रो भयो भने अरू प्रदेशले पनि सुरु गर्न सक्छन्,यस्तो सहयोग अरू प्रदेशले गरेका छैनन्।’

यो पनि : इनक्लुसिभ ग्यालेक्सीमा जमेका मिस्टर गे हेन्डसम

मन्त्रालयको आर्थिक सहयोग र लिड नेपाल दमकको सहकार्यमा झापाको दमकमा तेस्रो लिङ्गी समुदायले इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा ल्याइएका हुन्। दमक-८ स्थित यूनिक टोलमा अन्य खाजा घरको तुलनामा स्वच्छ र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्य राखेको खाजा घरका सञ्चालक राज मगर र अनीश आचार्य छन्।

तेस्रो लिङ्गीहरूले खाजा घरमा ढुक्कका साथ सेवा लिन अनुरोध गरेका छन्। उनीहरू कोशी प्रदेशको नमुनाको रूपमा इन्द्रेणी सेवारो खाजा घर सञ्चालनमा ल्याइएको र यसको ब्रान्च पनि खोल्न उत्साहित देखिएका छन्।

दमक –६ मा तेस्रो लिङ्गी समुदायले यसअघि श्रृङगार सम्बन्धी पसल पनि सञ्चालन गरेका छन्। समाजले हेर्ने नजरमा परिवर्तन होस भन्ने उद्देश्य कोशी प्रदेश सरकारको छ। नमुना भनिएको खाजा घर सञ्चालनमा सरकारी प्रतिनिधिहरू भने उपस्थित हुन सकेनन्। दमक वडा नं ८ का जनप्रतिनिधिले भने निम्तो नै नपाएको बताए।

महाशाखा प्रमुख बरालले निम्तो आए पनि उपस्थित हुन नसकिएको बताइन। ‘निम्तो आएको थियो,बाहिर परियो,कोही पनि उपस्थित हुन सकिएन,’बरालले पहिचानसँग भनिन्,’अब अनुगमनमा जान्छौँ।’

दमकको वडा नं ८ का अध्यक्ष धर्म प्रसाद दाहालले खाजा घर सञ्चालनबारे थाहा नभएको बताए। ‘व्यवसाय होला,खुलेका होलान्,’वडा अध्यक्ष दाहालले पहिचानसँग भने,’तेस्रो लिङ्गीहरूको खाजा घर खुलेको खबर भने आएको छैन।’

लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बु चञ्चलाले समानता र समावेशी सहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समाजमा सामाजिक आर्थिक दिगो विकासको लागि पुनर्स्थापना गराउने हेतु इन्द्रेणी सेवारो खाजा घर सञ्चालन भएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले आर्थिक सहयोगका लागि सामाजिक विकास मन्त्रालय कोशी प्रदेशलाई धन्यवाद पनि दिएकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.