ग्लोबल आइएमई बैङ्कलाई अन्तरबैंक फुटसलको उपाधि

ग्लोबल आइएमई बैङ्कलाई अन्तरबैंक फुटसलको उपाधि

काठमाडौं : नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैङ्क तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए।

उक्त प्रतियोगितामा बैङ्क तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी रहेका थिए। अन्तर बैङ्क फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैङ्क विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ।

उक्त प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैङ्कले गरिमा विकाश बैङ्क र महिला तर्फ ग्लोबल आइएमई बैङ्कले एनआईसी एसिया बैङ्कलाई हराएको हो। ग्लोबल आइएमई बैङ्कको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैङ्कका शशाङ्क निरौलाले हात पारेका थिए। साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैङ्कका चन्द्रिका भट्टले हात पारेकी छिन।

साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैङ्कको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेकी छिन।

ग्लोबल आइएमई बैङ्कको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ। अन्तर बैङ्क फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैङ्कले जितेको थियो। यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैङ्कको महिला तर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.