सहकारी ठगीमा छवि पक्राउ, रवि निगरानीमा

सहकारी ठगीमा छवि पक्राउ, रवि निगरानीमा

रास्वपा नेतृको उजुरीमा प्रसाईँ पुगे जेल

काठमाडौं : सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सुरु गरेको छ। प्रतिवेदनमा दोषी देखिएकालाई नेपाल प्रहरीले पक्रन सुरु गरेको हो।

सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीवी राई र रवि लामिछानेका साझेदार पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी छविलाल जोशी पक्राउ परेका छन्। उनी भाग्ने तयारीमा रहेको सूचनापछि पक्राउ गरिएको हो।

कास्की प्रहरीले पठाएको पत्रको आधारमा सहकारीको बचत रकम अपचलन प्रकरणमा राई र लामिछानेका साझेदार जोशीलाई शंखमुलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। जोशी गोरखा मिडियामा जीवी, लामिछानेका बिजनेस पार्टनर हुन्।

सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले पूर्व डिआइजी जोशी, पूर्व गृहमन्त्री लामिछानेसहित विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। गोरखा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको समितिको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएकै दिन जरुरी पक्राउ पुर्जी थमाएर जोशीलाई समातिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटिसकेको छ।

समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा पठाएको अवस्थामा गृहमन्त्री लेखकले प्रहरीलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

यससँगै अब प्रहरीले संसदीय छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएका र सहकारीको बचत हिनामिनामा दोषी देखिएकाहरूमाथि छानबिन अघि बढाउने भएको छ। कारबाही सिफारिसमा परेका व्यक्तिहरूमाथि प्रहरीले निगरानी बढाएको छ।

कार्यकर्ताको भिड

रास्वपा सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। छवि पक्राउ लगत्तै रास्वपाले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्काल भेला हुन सर्कुलर नै जारी गरेको छ।

मोबाइलमा मेसेज पठाएर काठमाडौं उपत्यकाभित्र रहेका कार्यकर्तालाई मुख्यालयमा जम्मा हुन भनेको हो। सर्कुलरसँगै रास्वपा पार्टी मुख्यालय वनस्थलीमा भीड जम्मा भएको छ। सभापति लामिछाने केही केन्द्रीय सदस्यहरूसहित पार्टी मुख्यालयमै छन्।

दुर्गा प्रसाईँ समातिए

अराजक अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका छन्। प्रसाईँविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका सङ्ग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।

प्रसाईँलाई एक साता अघि नै पक्राउ गर्ने तयारी भए पनि प्रहरीले फेला पार्न सकेको थिएन। आफ्नै निवासमा लुकेर बसेका प्रसाईँलाई आइतबार दिउँसो साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो।

प्रसाईँका सुरक्षाकर्मीले एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि प्रहरी टोली भर्‍याङ लगाएर घरको कम्पाउन्डमा प्रवेश गरेको थियो। प्रहरीले पक्राउ गर्दा पनि प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लड्ने अभिव्यक्ति दिए।

प्रसाईँलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। अब प्रहरीले प्रसाईँमाथि लागेका आरोपको अनुसन्धान गर्नेछ। अनुसन्धान नसकिएमा प्रहरीले प्रसाईँलाई पुन मङ्गलवार अदालतमा उपस्थित गराएर हिरासतमा राख्न म्याद थप गर्नेछ।

प्रसाईँ पक्राउ परे लगत्तै उनका ७ जना समर्थक काठमाडौं र झापाबाट समातिएका छन्। साइबर ब्युरो र अदालतबाहिरबाट प्रसाईँका पाँच जना र झापाबाट दुई समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रसाईँसहित तीन जनाविरुद्ध गत बुधवार मात्रै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.