दोस्रो पटक पक्राउ पर्ने दिन कुर्दै रवि

दोस्रो पटक पक्राउ पर्ने दिन कुर्दै रवि

काठमाडौँ : दुई दुई पटक गृहमन्त्री त्यो पनि उपप्रधानमन्त्रीको पगरी गुथेर रवि लामिछाने आत्तिएका छन्। पत्रकार शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा काठमाडौंबाट पक्राउ परेर १२ दिनसम्म चितवनको हिरासतमा राखिएका लामिछाने ९ भदौमा ५ लाख धरौटीमा छुटेका थिए। लामिछानेले कष्टडीदेखि गृहमन्त्रीसम्मको उपाधि पाइसकेका छन्। गृहमन्त्री पाए भोलि नै खुट्टा उचालेर दौडन तयार लामिछाने दोहोर्‍याएर जेल पर्ने त्रासमा छन्।

डरले लुगलुग कमाएको अवस्थामा पुगेका छन् लामिछाने। नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परे लगत्तै अब सक्ने भो भन्ने त्रास रविलाई लागेको छ। यो सरकारले जे पनि गर्न सक्छ, भर छैन,लामिछानेले गुहार मागेका छन्। मलाई बचाउनुहोस् भन्ने शब्द मात्रै ननिस्किएको हो लामिछानेको मुखबाट।

राजनीतिक दलहरू प्रतिको वितृष्णा क्यास गरेको लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रतिवाद गर्ने तयारीमा छ। पहिलो पटक औपचारिक चीन भ्रमणमा गएका पार्टीका नेताहरूलाई समेत रविले नेपाल फर्कन उर्दी जारी गरे। १० वैशाख २०८० मा भएको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट विजयी डा.स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिवार मध्यरातमा मात्रै चीन गएको थियो।

आइतबार जीवी राई र रविका पार्टनर छवि पक्राउ परेसँग सिङ्गो रास्वपा सभापतिको रक्षाकवचका रूपमा उभिएको छ। तर, लामिछाने भने न लुक्न सक्ने, न भाग्न सक्ने, न गिरफ्तारी दिने अलमलमा परेका छन्। गृहमन्त्री नियुक्त भएको दुई दिनमै जीवी राईलाई पक्राउ गरेर ब्रेकिङ न्युज दिने बताएका उनै लामिछाने अहिले आफैँ ब्रेकिङ बनेका छन्।

सहकारी ठगीमा छवि पक्राउ, रवि निगरानीमा

सहकारी बचतकर्ताको रकम अपचलनमा प्रचलित कानुन अनुसार कारबाहीको सिफारिसमा परेका लामिछाने जुनसुकै बेला पक्राउ पर्न सक्छन्। रवि मात्रै होइन, सहकारीको बचत रकम अपचलन गरेर श्रीमतीसँग नक्कली डिभोर्स गरेका काँग्रेसका उपसभापति धनराज गुरुङ पनि अनुसन्धानमा छन्। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले गुरुङमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

लामिछानेलाई भने कारबाहीकै सिफारिस गरेको छ छानबिन प्रतिवेदनले। छवि पक्राउ नपर्दासम्म रविलाई डर थिएन। जीवी फरार नै छन्। रवि विरुद्ध बयान दिने कोही थिएनन्। अब त रविका पार्टनर छविले थप सत्यतथ्य ओकलिदिन्छन् र पक्राउ गर्छन् भन्ने डर नै रास्वपा पार्टी कार्यालयमा आइतबार जम्मा गरिएको भिड, अनि रविको पत्रकार सम्मेलन हो।

सोमबार रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिहाल्ने सूचना चुहिएला र रक्षाकवच बनेर उभिन दौडौला भनेर कुर्नु मात्र भयो। लामिछाने सोमबार पक्राउ पर्ने हल्ला फैलिएन र नेता कार्यकर्ता पनि अघिल्लो रात जस्तो अनिदो बस्नु परेन।

पार्टी कार्यालयमा १५ मिनेट बोलेका लामिछानेले राति नै सामाजिक संजालमा केपी ओलीसँग हारगुहार गरेका थिए। रविले फेसबुकमा लेखेका छन्,’न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…’

रविको बाँकी कुरा आएको छैन। बरु रास्वपा विदेश विभाग अमेरिकाका लागि नेपाली महाबाणिज्यदूतावासलाई सुरक्षा संवेदनशीलका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत तथा अन्तरक्रिया कार्यक्रम नै रद्द गराउन सफल भयो। यता रवि सोमबार पक्राउ परेनन्। पक्राउ पर्ने दिन कुरेर बसेका छन् रवि।

काँग्रेसले रविमाथि जसरी संसदीय छानबिन समिति बनाउन बाध्य पार्‍यो, रास्वपाले काँग्रेस उपसभापति गुरुङमाथि त्यसरी छानबिन गर्न बाध्य बनाउँछ या रविको बचावटमा मात्रै लाग्छ? त्यो भने हेर्न बाँकी छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.