वर्षाको उच्च जोखिम, रात्रिकालीन बस नचलाउन निर्देशन

वर्षाको उच्च जोखिम, रात्रिकालीन बस नचलाउन निर्देशन

काठमाडौं : सरकारले मनसुनी वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा दुई दिन रात्रिकालीन बस नचलाउन निर्देशन दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रेड जोनमा रहेका जिल्लाहरूमा शुक्रवार र शनिवार रात्रिकालीन बस नचलाउन भनेको हो।

यस अवधिभर अत्यन्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर पनि नबस्न भनिएको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णय अनुसार प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन पनि किसानलाई सुझाएको छ।

तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ। खोज र उद्धारका लागि तीन वटै सुरक्षा निकाय र स्वयमसेवकहरुलाई तयारी अवस्थामा रहन भनेको प्राधिकरणले जोखिममा रहेका नागरिकलाई तुरुन्तै सुरक्षित आश्रयस्थलमा सर्न भनेको छ।

सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बाढी पहिरो र डुबानबाट विस्थापित हुनेहरूका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनर तयारी अवस्थामा राखिएको बताए। मनसुनलाई केन्द्रित गरेर देशभर ११० जना तालिमप्राप्त गोताखोर तैनाथ राखिएको उनले बताए।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। ती प्रदेशसहित सुदूरपश्चिम र कर्णालीमा पनि शुक्रवार दिउँसो भारी वर्षा हुने सम्भावना छ। अन्य स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। तराई भूभागका केही स्थानमा हावाहुरी समेत चल्ने सम्भावना देखिएको मौसमविद् गोविन्द झाले बताए।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने मौसमविद् झाले बताए। जल तथा मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अलर्ट जारी गर्दै भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बद्ध सबै सचेत रहन आग्रह गरेको छ।

आइतबारसम्म देशभर नै मनसुन सक्रिय हुँदा अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी देखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए।

मनसुन बाहिरिनुअघि देशैभर ठुलो पानी पर्ने सम्भावना भएपछि नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी सूचना केन्द्रले पनि आगामी तीन दिन देशभरका नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन भनेको छ।

केन्द्रले शुक्रवार नारायणी, कन्काई, कमला र बागमती नदीमा खतराको तह आसपास रहने पूर्वानुमान गरिएको छ भने शनिवार जलसतहले खतराको तह पार गर्ने भन्दै अति उच्च जोखिमको चेतावनी दिएको छ।

वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षाभन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

वर्षाको प्रकृति र पूर्वसतर्कताबारे जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानि नोक्सानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधारण पनि सचेत हुनुपर्ने बताएका छन्। दशैंमा घर जान यात्रा तय गरेकाहरूलाई पनि सोमबारसम्म रोकिन उप्रेतीले सुझाएका छन्।

पानी पर्दा जमिनमा पहिले नै पानीको मात्रा पुगिसकेको अवस्था रहेकाले अब ठुलो पानी पर्दा ठुलो पहिरो जानसक्नेतर्फ जलवायु विज्ञ उप्रेतीले सचेत गराए। लगातार ६ घण्टाभन्दा बढी पानीको मात्रा बढ्दै गएमा नदी तटीय क्षेत्रमा हानी नोक्सानी रोक्न बल प्रयोग गर्नुपर्ने अवस्थाप्रति सचेत गराए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.