राजाबाट बाहिरिएपछि ज्ञानेन्द्रको पहिलो भुटान भ्रमण

राजाबाट बाहिरिएपछि ज्ञानेन्द्रको पहिलो भुटान भ्रमण

307
SHARES

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमण गर्ने भएका छन्। आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाने निधो भएको संवाद सचिव फणीराज पाठकले जानकारी दिए। ‘आगामी हप्ता भुटान जाने भनिबक्सेको छ,’पाठकले पहिचानसँग भने,‘राजाबाट बाहिरिएपछि भुटान भ्रमण पहिलो हो।’

पूर्वराजा ज्ञानेन्द्रले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गर्ने संवाद सचिव पाठकले जानकारी दिए। भुटानको संस्कृति, विकास निर्माणबारे पूर्वराजा ज्ञानेन्द्रले अवलोकन गर्नेछन्।

भुटानका राजा वाङचुक नेपालको प्रसूति गृहमा जन्मेका हुन्। राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो। उनकी आमा छिरिङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो।

तत्कालीन रानी छिरिङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रूपमा जिग्मेको जन्म भएको पनि जानकारहरू बताउँछन्। त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए। दुवै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो।

राजाबाट बाहिरिएपछि त्यही सम्बन्ध सुधारका लागि ज्ञानेन्द्र भुटान जान लागेको टिप्पणी भएको छ। संवाद सचिव पाठकले भने भुटान जाने टुङ्गो भएको मात्र जानकारी दिए। उनले भुटान भ्रमणको निम्तोबारे खुलाएनन्। आउँदो साता भुटान भ्रमणमा जाने पूर्वराजा ज्ञानेन्द्र दशैंको टिकामा स्वदेश फर्किसक्ने सचिव पाठकले बताए।

समाचार शेयर गर्नुहोस्
307
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.