वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

काठमाडौँ : नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ। ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा नेपाल वायुसेवा निगमलाई सम्मान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे राज्यमन्त्री अरुणकुमार चौधरी, तथा सचिव डा. गणेश प्रसाद पाण्डेयको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका हुन्।

निगमले १ अगस्ट, २०२३ देखि ३१ अगस्ट, २०२४ को अवधिमा सबैभन्दा बढी विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरी देशमा विदेशी मुद्रा सञ्चिति बढाउन उल्लेखनीय योगदान पुऱ्याएको जनाएको छ।

आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको प्रवक्ता रमेश पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरूमा यात्रुहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा पुर्‍याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको प्रवक्ता पौडेलले बताए। यस कार्यमा सहयोग गर्ने नेपाल सरकार, तालुकदार मन्त्रालय एवं सबै सरोकारवालाहरू, सेल्स एजेन्टहरू तथा सबै कर्मचारीहरूलाई निगमले आभार प्रकट गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.