पाथीभरा केबलकार : निर्माण सम्पन्न गर्न १५ महिना लाग्ने

पाथीभरा केबलकार : निर्माण सम्पन्न गर्न १५ महिना लाग्ने

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले स्वदेशी लगानीलाई निरुत्साहित नगर्न अपिल गरेका छन्।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न पुगेका अध्यक्ष ढकालले स्थानीयलाई शतप्रतिशत रोजगारी दिने प्रतिबद्धता जनाउँदै झमेला नगर्न आग्रह पनि गरे। ‘फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ,’अध्यक्ष ढकालले भने,’स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो। सकेसम्म शतप्रतिशत स्थानीयहरूलाई रोजगारी दिन चाहन्छौ।’

कवलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई सुविधा दिने घोषणा ढकालले गरे। थप सुविधा आवश्यक परे छलफल गर्न तयार रहेको उनले बताए। ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सङ्घर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने ढकालले बताए।

सरकार र निजी क्षेत्रले अर्बौँ रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने उनले उल्लेख गरे। ‘एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ,’अध्यक्ष ढकालले भने,’समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा केबलकारले ठुलो भूमिका निर्वाह गर्छ।’

पर्यटन पूर्वाधार निर्माण भए पनि मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने ढकालको भनाई थियो। ‘पाथीभरा केबलकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै होइन,’उनले भने,’पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना हो,सबैको साथ सहयोगको अपेक्षा गरेको छु।’

आइएमई ग्रुपले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। देशमा पर्यटनको विकास, रोजगारी सिर्जना गर्ने अभियानमा रहेको ग्रुपका पनि अध्यक्ष रहेका ढकालले बताए। पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको जानकारी पनि उनले दिए। केबलकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको उनले बताए। आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोगका लागि आग्रह समेत गरे।

स्वदेशी लगानीलाई पहिलो प्राथमिकतामा राख्न उनले माग गरे। पाथीभरामा केबलकार निर्माणले व्यक्तिगत भन्दा पनि पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि फाइदा पुग्ने बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.