मनसुनी वर्षाको वितण्डा, पुरिएको हाईसबाट १४ शव फेला

मनसुनी वर्षाको वितण्डा, पुरिएको हाईसबाट १४ शव फेला

काठमाडौं : मनसुनी वर्षाले सबै भन्दा बढी काठमाडौं उपत्यकामा वितण्डा मच्चाएको छ। प्राकृतिक विपद्मा परी एकै दिन ७६ जनाले ज्यान गुमाउँदा काठमाडौं, ललितपुर र भक्तपुरका मात्रै ३६ जना रहेका छन्। बाढी, पहिरो र डुबानमा परी अन्य ६० जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका गृह मन्त्रालयले जनाएको छ।

काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा २० जनाको मृत्यु भएको छ। मकवानपुरमा ७, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन्। ३ हजार जनाको सकुशल उद्धार गरिएको छ भने १९५ वटा घरमा क्षति पुगेको छ।

डुबान र पहिरोले कयौँ घरपरिवार विस्थापित भएका छन्। भक्तपुरस्थित मनहरा खोला आसपास टहरा बनाई बस्दै आएका १३० जना विस्थापित भएका छन्। उनीहरूलाई कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको भक्तपुरका डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको मकवानपुरस्थित एकेडेमीमा पहिरोले पुरिएर ६ जना खेलाडीको मृत्यु भएको छ। पहिरोमा परि बेपत्ता भएका दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदित्य वालमपाकीको शव साँझ फेला परेको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित वात्सल्यदेवी उच्च मा.वि.मा एन्फाले सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जनालाई बिहान बगाएको थियो। उनीहरूको शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।

नख्खु खोलामा फसेका चार जनालाई समयमै उद्धार गर्न नसक्दा एक जना बेपत्ता भएका छन्। सिन्धुलीको दुम्जास्थित कुशेश्वर महादेव परिसरमा अलपत्र परेका संस्कृत गुरुकुलका बटुक र शिक्षकहरूको भने करिब २४ घण्टापछि सकुशल उद्धार गरिएको छ। रोशी नदीको बाढी मन्दिर परिसरमा पसेपछि फसेका ३३ जनालाई साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

सेनाको हेलिकप्टरमार्फत मकवानपुरको सिस्नेरीबाट ३२ जनासहित ललितपुर काठमाडौँका क्षेत्रबाट ४७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

दर्किँदो झरीले उथलपुथल, काठमाडौँमा ‘रेकर्ड ब्रेक’ वर्षा

महोत्तरीका अधिकांश नदीको जलसतहले जोखिमको तह पार गर्दा तटीय क्षेत्रका २४ भन्दा बढी बस्तीहरू जोखिममा थिए। अहिले अवस्था खतरामुक्त भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। जोखिममा रहेका सिलगढ बस्तीबाट ६५ जनालाई आफन्त र सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी ब्यारेजको पुलमा आवतजावत बन्द गरेको छ। अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको तह पार गरेकाले सर्वसाधारणको सुरक्षाको लागि मानिस तथा सवारीसाधनहरूको आवतजावत बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए। अत्यावश्यक कामको लागि वैकल्पिक मार्गको प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ।

ठाउँठाउँका सडकदेखि पुलसम्म बाढीले बगाएको छ। जसका कारण मुलुकका मुख्यमुख्य मुख्य राजमार्गका ४४ स्थानमा सवारी यातायात पूर्ण अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार उपत्यका प्रवेश गर्ने सडकहरू नै अवरुद्ध बनेका छन्।

कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।

सडकमा पहिरो खस्दा प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन्। राजमार्ग ठप्प हुँदा सार्वजनिक यातायात पनि सञ्चालन हुन सकेका छैनन्। विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधन र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन्।

काठमाडौँ र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा बिहान पहिरोले पुरिएको हईसबाट १४ शव निकालिएको छ। बेलुकी ८ बजेसम्म हाईसमा रहेका १४ जना यात्रुहरूको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.