"/>

प्राकृतिक विपत्तिको पूर्वतयारीमा सरकार असफल, गृहमन्त्रीको टालटुले जवाफ

प्राकृतिक विपत्तिको पूर्वतयारीमा सरकार असफल, गृहमन्त्रीको टालटुले जवाफ

काठमाडौं : प्राकृतिक विपत्तिले तहसनहस बनाउन थालेपछि ब्युँझिएका सरकारका कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरूले सिंहदरबारमा बैठक राखेर चटक देखाएका छन्। सरकारले उद्धार र राहतमा असफल बनेको आरोप खेपेको छ।

हेर्दाहेर्दै मान्छेलाई खोलाले बगाएको छ। उद्धारका लागि पर्खँदा पर्खँदै चार जनालाई नख्खु खोलाले बगाएपछि सरकारको चौतर्फी आलोचना भएको हो। सरकार भने रक्षात्मक बनेको छ। उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरू बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको स्पष्टोक्ति गृहमन्त्री रमेश लेखकले दिएका छन्।

बिहान नख्खु खोलाले बगाएका चार जनामध्ये ३ जनाको दिउँसो स्थानीयको सहयोगमा उद्धार गरिएको छ। उनीहरू तीनै जनाको पाटन अस्पतालमा लगिएको छ। उनीहरूको उद्धारका लागि पुगेका सुरक्षाकर्मीलाई नै खोलाले बगाएपछि उद्धारकर्तालाई नै उद्धार गर्न करिब एक घण्टा लागेको थियो।

गृहमन्त्री लेखकले भने जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको ओठे जवाफ दिएका छन्। शनिवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै नागरिकले सतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे।

अरू बेला काठमाडौँलाई सुरक्षित सहर भनेर घोक्रो सुकाउने गरी चिच्याउने सरकार यतिबेला निदाएको आरोप लागेको छ। सरकारले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

लगातारको वर्षा सँगैको वितण्डापछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको समन्वयमा बसेको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

समस्यामा परेका नागरिकले प्रधानमन्त्रीको कार्यालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको हटलाइनमा सोझै सम्पर्क गर्न सक्ने उनले बताए। सरकारले अहिले भइरहेका सबै परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए।

बैठकले प्राकृतिक विपत्तिबाट क्षति भएका संरचनाहरूको लगत सङ्कलन गर्ने निर्णय गरेको छ। अवरुद्ध सडक, खानेपानी, बिद्युत् तथा सञ्चार सेवा सुचारु गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका नेताहरूले सतर्कता अपनाउन अपिल गरेका छन्।

मनसुनी वर्षाको वितण्डा, पुरिएको हाईसबाट १४ शव फेला

बाढी पहिरोबाट विस्थापितलाई विद्यालय भवनमा व्यवस्थापन गर्नुपर्ने भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि तीन दिन सबै विद्यालय बन्द गर्न स्थानीय तहलाई भनेको हो।

मन्त्रालयले विश्वविद्यालय र विद्यालयको भवनमा पनि क्षति पुगेको, विद्यार्थी अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा विपद् व्यवस्थापन लगायतका कारण देखाएर विद्यालय बन्द गर्न भनेको छ।

अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई २४ सै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन्।

मन्त्री पौडेलले औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन्। उनले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.