माओवादी महासचिव गुरुङ्गको गम्भीर आरोप, ‘सर्वोच्च अदालत पश्चिमा थिङट्याङकको प्रभावमा’

माओवादी महासचिव गुरुङ्गको गम्भीर आरोप, ‘सर्वोच्च अदालत पश्चिमा थिङट्याङकको प्रभावमा’

काठमाडौँ : सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दल रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग समलिङ्गी विवाहको विपक्षमा उभिएका छन्।

उनले समलिङ्गी अभियान सुरु गर्न थालेपछि समाज सिद्ध्याउने प्रक्रिया पनि सुरु हुने सुनाएका छन्। ‘तेस्रो विश्वका मुलुकहरू जो राष्ट्रिय स्वाधीनता, आफ्नो गौरव, आफ्नो इतिहास, आफ्नो सभ्यता, मूल्यमान्यता जो भनिराख्या छन् त्यसलाई ध्वंस गर्ने प्रक्रिया त त्यहाँबाट सुरु हुने भयो नि,’गुरुङ्गले।

समाज ध्वस्त पार्ने प्रक्रिया लिभिङ टुगेदरबाट सुरु भएको उनले बताए। ‘बाउबाट नाता टुटाउनलाई लिभिङ टुगेदरको प्रक्रिया सुरु गरे। आमा मात्रै हुने भयो बाउ त नचिन्ने भए लिभिङ टुगेदरबाट जन्मेका बालबच्चाको निम्ति त,’उनले भने,’त्यसपछि के गरे त भन्दा अब आमाबाट पनि कसरी छुटाउने भन्ने प्रक्रियामा सेरोगेटिभ मदरको प्रक्रिया सुरु गरे।’

सामाजिक एकताको स्वरूप भङ्ग गर्दै लैजान सेरोगेटिभ मदरको प्रक्रिया सुरु भएको दाबी माओवादी महासचिव गुरुङ्गले गरे। ‘बाउ पनि भएन,आमा पनि भएन। अब के भयो त भन्दा बाउ र आमा बिनाको सन्तति पैदा गराउने। त्यसले गर्दा उसको भाषा, संस्कृति, सभ्यता, मूल्य मान्यता, नातागोता, इष्टमित्र सबै सामाजिक एकताको जो स्वरूप हो सबै भङ्ग गर्दै लैजान सक्ने भए,’उनले भने,’यो अभियान सुरु गरे।’

माओवादी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आइतबार काठमाडौँमा गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले सर्वोच्च अदालतका न्यायाधीशहरू कतैबाट प्रभावित भएर समलिङ्गी विवाहको आदेश दिएको आरोप समेत लगाए। ‘पुरुष–पुरुषको विवाह गर्न पाउनुपर्छ‚ महिला–महिलाको विवाह गर्न पाउनुपर्छ भनेपछि जन्म सन्तान सिद्धिने प्रक्रिया सुरु हुने भयो। यसरी आक्रमण भइराखेको छ‚’उनले भने‚‘नेपालको संविधानले समलिङ्गी विवाहको परिकल्पना गरेको छैन तर सर्वोच्च अदालतले कहाँ–कहाँबाट प्रभावित भएर समलिङ्गी विवाह गर्न पाउने भनेर निर्णय गरेको छ एउटा बेन्चले।’

सर्वोच्च अदालतले १२ असार २०८० मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको अन्तरिम आदेश पछि १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले इन्द्रेणी विवाह दर्ता गरे।

अमेरिकी नागरिकसँग इन्द्रेणी विवाह दर्ता, परिवारमा खुसीयाली

तर, माओवादी महासचिव गुरुङ्गले अदालतबाट समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको आरोप लगाए। राष्ट्रघात कहाँबाट सुरु भएको छ, सामाजिक विखण्डन, विभाजन र सिद्ध्याउने प्रक्रिया कहाँबाट सुरु भएको छ,उनले भने,सरकारमा भएका कतिपय नीति, निर्मातालाई पनि प्रभावित पार्दै गएका छन् र समलिङ्गी पुरुषको विकास गर्नुपर्छ भनेर पर्यटन मन्त्रालयअन्तर्गत समलिङ्गी पुरुषको अभियान सुरु गर्ने रे!’

उनले नेपाललाई एसियामै समलिङ्गीहरूको अखडा बनाउन लागिएको समेत बताए। एसियामा नेपाल भन्दा अगाडी ताइवानले समलिङ्गी विवाहको कानुन नै बनाएर लागू गरिसकेको छ। नेपालमा सर्वोच्च अदालतको आदेश अनुसार हालसम्म कानुन बनेको छैन।

आगामी ५० वर्षमा नेपालको अस्मिता नै समाप्त हुने बताउँदै उनले भने,‘सामाजिक अतिक्रमण, साम्राज्यवादको अतिक्रमण कहाँबाट कति हुँदो रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो यो।’

महासचिव गुरुङ्गका अनुसार पश्चिमा थिङट्याङकहरुले यो अभियानको साथसाथै पछिल्लो समयमा सब भन्दा लेटेष्ट समलिङ्गी अभियान चलाइरहेका छन्। उनले तेस्रो लिङ्गी, अन्तरलिंगी व्यक्ति अपवादका रूपमा जहातही हुने बताए।

तर, तेस्रो लिङ्गी, अल्पसङ्ख्यकको हक अधिकारमा टेकेर समलिङ्गी अभियान सुरु भएको उनले बताए। ‘सामाजिक विकासको क्रममा पुरुष र महिला त स्वाभाविक रूपले हुन्छ। जैविक विज्ञानमा अपवादको रूपमा तेस्रो लिङ्गी अथवा लिङ्ग नछुट्टिएको नपुंसक पनि जन्मन सक्छ। कहिलेकाहीँ जीव विज्ञानमा त्यस्तो पनि हुन्छ त्यस्तो अपवाद भन्ने हुन्छ जहातही,’उनले भने,’तेस्रो लिङ्ग, अल्पसङ्ख्यक लिङ्गको हक अधिकार हुनुपर्छ भन्ने क्रममा त्यसमा टेकेर के गर्न थाले भने समलिङ्गी सुरु गर्न थाले। समलिङ्गी भनेको त पुरुष-पुरुष, महिला-महिलाको कुरा हो नि।’

सर्वोच्चको आदेशले उठाएका ११ प्रश्न : नयाँ महिलाको अधिकार के हुन्छ?

देशमा संविधान संशोधनको बहस सुरु भइरहँदा माओवादी महासचिव गुरुङ्गले समलिङ्गी अधिकारलाई पश्चिमा देशको अभियान भनेका हुन्। उनी सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे भने जानकार नभएको पाइएको छ। समलिङ्गी विवाह भन्दा पनि ब्रेन जेण्डरलाई मान्यता दिनुपर्ने सर्वोच्चको फैसला भने विवादित छ। यसबारे भने गुरुङ्गले केही बोलेनन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाहलाई कतैबाट विरोध नभए पनि उनले विवादास्पद अभिव्यक्ति दिएका हुन्।

संविधान संशोधन मार्फत समानुपातिक समावेशी नहटाउन खबरदारी गर्दै आएको माओवादी समलिङ्गी अधिकारको विपक्षमा उभिएको छ,जसलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले अचम्म मानेका छैनन्।

पन्तले सन् २००८ मा गुरुङ्गबाट समलैंगिकतालाई पुँजीवादको उपउत्पादन भएको अभिव्यक्ति दिएको स्मरण पनि गरेका छन्। ‘त्यसपछि उनी धेरै परिवर्तन भएका छैनन्,’पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायविरुद्धको गुरुङ्गको अभिव्यक्ति पूर्वाग्रही भएको पन्तले लेखेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.