डि.भी. कार्यक्रम खुला, ‘झड्केला’ सन्तान सूचीकृत गर्नु अनिवार्य

डि.भी. कार्यक्रम खुला, ‘झड्केला’ सन्तान सूचीकृत गर्नु अनिवार्य

काठमाडौं : अमेरिकाले सन् २०२६ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमका लागि आवेदन दर्ता खुला भएको छ। 

अमेरिकी दुतावासले खुलाएको आवेदनमा आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित झड्केला सन्तान समेत लेखिएको छ,‘आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित झड्केला सन्तान तथा धर्मसन्तानलाई पनि सूचीकृत गर्नु अनिवार्य छ,’दुतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

२०८१ असोज १६ गते इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयानुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी डि.भी. कार्यक्रमका लागि आवेदन दर्ता खुला भएको अमेरिकी दुतावासले जनाएको छ।  

डि.भी. कार्यक्रमका लागि आवेदन दर्ता २०८१ कात्तिक २० गते इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजे) बन्द हुनेछ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :

• आवेदन नि:शुल्क : डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गरा पनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ।

• फाराम अनलाइन भर्नुपर्ने : सन् २०२६ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvprogram.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फाराम भर्नु पर्नेछ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ। त्यसैगरी आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित झड्केला सन्तान तथा धर्मसन्तानलाई पनि सूचीकृत गर्नु अनिवार्य छ। यसरी पारिवारिक विवरण समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिनेछ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउनु हुँदैन।

• राहदानी : अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डि.भी. आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो। हाल आएर आफ्नो डि. भी. आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन।
• आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस्।

• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको २०८२ वैशाख २० गते वा त्यसपछि www.dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गर्नु हो।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू डि.भी. का लागि छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।

डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्योल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ।

सन् २०२६ को डि.भी. कार्यक्रमसम्बन्धी निर्देशिका usvisas.state.gov/dv/instructions मा उपलब्ध छ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी www.dvprogram.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/ मा उपलब्ध छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.