काठमाडौँ : नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)ले तीज प्रोगाममा एकै दिन ११ लाख ५२ हजार ८०० रुपैयाँ खर्च गरेको छ। सिल्भर ओक ब्याङकेट बालुवाटारमा भदौ २१ गते तीज प्रोग्राम गरेको ब्लु डायमन्डले एकै दिन ११ लाख ५२ हजार ८०० को बिल भरेको हो।
ब्याङकेटका एक कर्मचारीका अनुसार तिज प्रोग्राममा ५२४ जनालाई खाना खुवाइएको छ। ‘तेस्रो लिङ्गीहरूको तिज प्रोग्राममा ५२४ वटा प्लेट गएको छ,प्लेटका आधारमा ५२४ जनाले खाना खाए भन्ने हो,’ती कर्मचारीले पहिचानसँग भने,‘एक प्लेटको २ हजार २०० रुपैयाँ हो।’
ब्याङकेटको दररेट अनुसार २ हजार २०० रुपैयाँका दरले ५२४ जनाको ११ लाख ५२ हजार ८०० रुपैयाँ हुन आउँछ। तेस्रो लिङ्गी क्रिष्टिनाको निधन भएको एक साता पनि नपुग्दै ब्लु डायमन्डले तिजको रमाइलोमा लाखौँ रकम खर्च गरेको स्वयं ब्लु डायमन्डकी अध्यक्ष पिंकी गुरुङले पनि स्वीकार गरेकी छन्।
रोजगारीका लागि तनहुँबाट काठमाडौँ आएकी तेस्रो लिङ्गी महिला क्रिष्टिनाको ३१ वर्षको कलिलै उमेरमा निधन भएको थियो। उनको निधनमा शोकमा परेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नाममा लाखौँ खर्च गरे पछि पिंकीको आलोचना भएको थियो।
हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल, बिरोधमा समाचार लेख्ने मिडियालाई कारबाही गर्ने धम्की
आर्थिक अवस्था कमजोर भएकी क्रिष्टिनाको परिवारलाई सहयोग गर्नुको सट्टा एक दिनको रामरमाइलोमा लाखौँ रकम खर्च गरे पछि समुदायका व्यक्तिहरूले पिंकीसँग प्रश्न गरेका थिए। ‘१२ लाख खर्च भए पनि समुदायकै लागि भएको हो, २४ लाख भए पनि समुदायकै लागि भएको हो,जति आएको छ पैसा हामीले समुदायका लागि खर्च गर्देको छ,’उनले भनेकी छन्,’कन्जुस्याइँ गरेको छैन, भ्रष्टाचार गरेर खाको छैन।’
उनले हाइस्टान्डर्ड पार्टी प्यालेसमा समुदायले खाओस्, रमाइलो मानोस् भनेर जति आएको त्यति खर्च गरेको निर्धक्क बताएकी छन्। टुरिजम बोर्डमा ८ लाख ५० हजार आएको बजेट बिस्कुट र चिया खुवाएर ब्रेकफास्टमा टारेको जस्तो आफूले नगरेको उनले आरोप समेत लगाएकी छन्।
‘५०/६० जनाको लागि ८ लाख ५० हजार पचाएको जस्तो होइन जति आएको छ त्यति हाइस्टान्डर्ड पार्टी प्यालेसमा समुदायले गरोस्, खाओस्, रमाइलो मानोस् भनेर खर्च गरिदिएको छ,’उनले भनेकी छन्,’के न्युज लेखिरहनु पर्यो यति खर्च भयो उति खर्च भयो भनेर। तातो न छारो कुनै न्युज नपाएर।’
शोकमा परेका समुदायका सदस्यले चौतर्फी आलोचना गरेपछि पिंकीले भ्रष्टाचार नगरेको प्रष्टोक्ति दिएकी हुन्। आलोचनाबाट मुक्त हुन उनले नेपाल पर्यटन बोर्डलाई उल्टै आरोप लगाएकी छन्।
ब्लु डायमन्डकी अध्यक्ष पिंकीको अभिव्यक्तिमा बोर्डले जनायो आपत्ति
ब्लु डायमन्डकी अध्यक्ष पिंकीको यो अभिव्यक्तिमा बोर्डले आपत्ति जनाएको छ। समुदायको नाममा ब्लु डायमन्डले लिने करोडौँ अनुदान रकममा पारदर्शिताको प्रश्न बारम्बार उठिरहे पनि अध्यक्ष पिंकीले यस्तै गैरजिम्मेवार जवाफ दिँदै आएकी छन्।
तेस्रो लिङ्गी क्रिष्टिनाको निधन भएको साता नपुग्दै तिज प्रोग्राममा १२ लाख रुपैयाँ खर्च गरेको समाचार विरुद्ध पिंकीले समुदायका सदस्यको नाममा प्रेस काउन्सिलमा उजुरी नै दिन लगाएकी थिइन।
रामरमाइलोमा लाखौँ खर्च गर्ने ब्लु डायमन्डकी अध्यक्ष पिंकीले समुदायका सदस्य बिरामी पर्दा भने उपचारका लागि भन्दै सहयोग उठाउँदै आएकी छन्। ‘समुदायका सदस्य बिरामी पर्दा सहयोग उठाउने गरेको छ,हामीले गर्दै पनि आएका छौँ,’समुदायका एक सदस्यले भने,’कसैले प्रश्न नउठाउँदा दाताबाट लिने अनुदान रामरमाइलोमै सक्ने गरेका छन्,अनि कुरा भने पारदर्शिताको गर्छन्।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.