रविको कार्यक्रम बिथोल्ने गरी सहकारी पीडितको प्रदर्शन

रविको कार्यक्रम बिथोल्ने गरी सहकारी पीडितको प्रदर्शन

काठमाडौं : सहकारी ठगीमा संसदीय समितिको कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका हरेक कार्यक्रममा बिथोल्ने गरी प्रदर्शन हुन थालेको छ।

कार्यक्रम नै बिथोलिन थाले पछि आक्रोशित बनेका रविका कार्यकर्ता भिड्न थालेका छन्। भिड्न आउनेलाई सहकारी पीडितहरूले लखेटेका छन्। कार्यक्रमैपिच्छे विरोध प्रदर्शन भएको छ।

चितवनको मुग्लिङमा सहकारी पीडितले सभापति लामिछानेलाई कालोझण्डा देखाएको भोलिपल्टै शनिवार भरतपुरस्थित नारायणकला मन्दिरमा रास्वपाको प्रशिक्षण कार्यक्रम चलिरहँदा विरोध प्रदर्शन भएको छ।

सहकारी पीडितले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राख्दै रविविरुद्ध लगातार प्रदर्शन गरिरहेका छन्। लायन्स चोकबाट सुरु भएको सहकारी पीडितको प्रदर्शन नारायणीकला मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रहेका रविका समर्थकले प्रदर्शनकारीमाथि ढुङ्गा र पानीका बोतल प्रहार गरेको सहारा सहकारी पीडित सङ्घर्ष समितिका संयोजक सालिकराम दवाडीले बताए।

तर, प्रहरीले भने प्रदर्शनमा पुगेका सहकारी पीडितलाई नियन्त्रणमा लिएको छ। कार्यक्रमस्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीको दाबी छ भने आफ्नो निर्वाचन क्षेत्रका सांसद लामिछानेलाई शान्तिपूर्ण ढङ्गले नै आफूहरूले ज्ञापनपत्र बुझाउन लागेको दाबी सङ्घर्ष समितिका अध्यक्ष दवाडीको छ।

जान्नेलाई छान्ने पार्टी भनिएको रास्वपाले पीडितलाई न्याय दिने भन्दा पनि अराजक राजनीति गर्न लागेको सहकारी पीडितहरूले आरोप लगाएका छन्।

रास्वपाले भने काँग्रेस–एमालेले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको छ। घटनापछि रास्वपाले कार्यक्रम बिथोल्न काँग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको आरोप लगाएको हो।

सभापति लामिछानेको सचिवालयले कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुङ्गा प्रहार गरेको बताएको छ।

सचिवालयले उनीहरू वास्तवमा सहकारी पीडित नै नभएको ठोकुवा गरेको छ। ढुङ्गा प्रहार गर्नेमध्ये काँग्रेस चितवनका प्रवक्ता नै पक्राउ परेको भन्दै यसैबाट पनि उनीहरू सहकारी पीडितको नाममा रास्वपाको कार्यक्रम बिथोल्न खोजेको पुष्टि हुने दाबी रास्वपाले गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.