दैवी प्रकोप उद्धार कोषमा एकै दिन १० करोड बढी सहयोग, आइएमई ग्रुपको मात्रै पाँच करोड

दैवी प्रकोप उद्धार कोषमा एकै दिन १० करोड बढी सहयोग, आइएमई ग्रुपको मात्रै पाँच करोड

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो साता १० करोड रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषमा एक अर्ब ५८ करोड ९७ लाख ७३ हजार ८३७ रुपैयाँ जम्मा भएको उल्लेख छ। गत असार मसान्तसम्म एक अर्ब ५२ करोड ८३ लाख ५१ हजार ६०७ रुपैयाँ मौज्दात थियो।

मनसुन बाहिरिने क्रममा गत साता आएको वर्षापछिको बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि यही असोज १४ गतेदेखि विभिन्न निकायको सहयोग रकम जम्मा हुन थालेको हो।

आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।

यस्तै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेका छन्।

आइतबार मात्रै नेपाल निर्माण व्यवसायी विकास परिषद्ले उक्त कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरे।

सत्तारुढ नेकपा एमाले र काँग्रेसले पनि ५०–५० लाख रुपैयाँ कोषमा जम्मा गरिदिएका छन्। प्रधानमन्त्री ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्न काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए।

काँग्रेसले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा ३४ बुँदे सुझाव दिएको छ। ७ बुँदामा अल्पकालीन कार्य योजना र १२ बुँदामा दीर्घकालीन योजनामा काँग्रेसले ध्यानाकर्षण गराएको हो।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल पनि चेक हस्तान्तरण गर्न सिंहदरबार पुगेका थिए। एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो।

नेकपा माओवादी केन्द्रले पनि बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटना लगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेरै ध्यानाकर्षण गराएको हो। उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आइतबारसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख रुपैयाँ भएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.