बाढी, पहिरो र डुबानबाट २४६ जनाको मृत्यु

बाढी, पहिरो र डुबानबाट २४६ जनाको मृत्यु

काठमाडौं : असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरूबाट हालसम्म २४६ जनाको मृत्यु भएको छ। १८ जना बेपत्ता र १७८ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ।

मृतक मध्ये १७६ जनाका आश्रित परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

प्रभावित परिवारहरूलाई नगद सहायता तथा राहत सामग्री वितरण गर्ने कार्य जारी रहेको तिवारीले निकालेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मन्त्रालय अन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्रीहरू जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ।

आपत्कालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्री सहितको एक टोलीले ललितपुर जिल्लाका विपद् प्रभावित केही स्थानको स्थलगत अनुगमन गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समिति ललितपुरका पदाधिकारी र जनप्रतिनिधिहरूसँग छलफल एवं अन्तरक्रिया गरी राहत र पुनर्निर्माणको कार्यलाई गति दिन निर्देशन भएको छ।

विभिन्न राजमार्गका अवरुद्ध सडक खण्डहरूको अवरोध हटाई वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको छ। लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितहरूलाई खाद्यान्न लगायत तत्काल गुजारा गर्न नगद सहायता र अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता बापतको रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत समेत उपलब्ध गराइने जानकारी गृह मन्त्रालयले दिएको छ।

सरकारको निर्देशन नै निर्देशन

सरकारका मन्त्रीहरू बाढी, पहिरो र डुबानमा परेका नागरिकका लागि तत्काल राहत पुर्‍याउने निर्देशन दिनमै सीमित बनेको देखिएको छ। विपद्मा भिजिबिलिटी गुमाएको सरकारका उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म दिनहुँ निर्देशन दिएर चटक देखाइरहेका छन्।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण धेरै ठुलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका छन्।

अर्थमन्त्री पौडेलले राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक भएको बताए।

यस्तै गृहमन्त्री रमेश लेखकले दिनहुँ एउटै निर्देशन दिन थालेका छन्। शनिवार तथ्याङ्क पाएको तीन दिनभित्र राहत रकम उपलब्ध गराउन निर्देशन दिनु भएका मन्त्री लेखकले आइतबार हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले विपद्मा परेकाहरू खुला आकाश मुनि बस्न नपर्ने गरी काम गर्न भनेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.