मेलम्चीको पानी वितरण सुरु

मेलम्चीको पानी वितरण सुरु

तस्बिरः विमलबहादुर विष्ट/रासस

काठमाडौं : काठमाडौँ उपत्यकामा साढे तीन महिना अघि बन्द भएको मेलम्चीको पानी वितरण पुन सुरु भएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची सङ्घर्ष समितिसँग सहमति जुटाएसँगै काठमाडौँको सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे।

पानी वितरण सुरुवात गर्दै खानेपानीमन्त्री यादवले एक दिन बिराएर पानी वितरण गर्न निर्देशन दिए।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धाराधारामा वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए। ‘मेलम्चीको शुद्ध पानी आइपुगेको छ,’उनले भने,‘अब केही समयमै नागरिकका धाराधारामा पठाउँछौँ।’

सहमतिसँगै मेलम्चीको पानी साँझदेखि वितरण

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मङ्गलवार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।

वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार ७ देखि पानी ल्याउन बन्द गरिएको थियो। उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ।

विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन। काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ।

दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७÷१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार सात सय किमी नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा सात सय ६० किमीमध्ये करिब सात सय किमी पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.