ललिता निवास प्रकरणका मीनबहादुरको जग्गा दान : एमालेले भवन ठड्याउने

ललिता निवास प्रकरणका मीनबहादुरको जग्गा दान : एमालेले भवन ठड्याउने

काठमाडौँ : ललिता निवास बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा गराउने मीनबहादुर गुरुङले नेकपा एमाले पार्टी कार्यालय बनाउन कीर्तिपुर मैत्रीनगरको १० रोपनी १४ आना जग्गा दान गरेका छन्। अत्याधुनिक भवन नै बनाएर २०८२ सालको घटस्थापनासम्म हस्तान्तरण गर्ने वचन गुरुङले दिएको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारको नेतृत्व गरेको एमालेले काठमाडौँ जिल्ला अदालतबाट २४ भदौ २०८० मा २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका गुरुङले दान गरेको जग्गामा पार्टी कार्यालय ठड्याउन लागेको हो।

विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध ३९ करोड २७ लाख ६८ हजारको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो। गुरूङविरूद्वको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले उनै मीनबहादुर र श्रीमती सावित्री गुरुङबाट दान गरिएको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शुक्रवार शिलान्यास गरे।

एमालेका महासचिव शङ्कर पोखरेलले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए। हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको एमालेले जनाएको छ।

पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको मात्रै बताएनन्, आफू पहिल्यैदेखि एमालेनिकट रहेको समेत सुनाए। सरकारको नेतृत्व गरेको एमालेलाई सहयोग गर्न पाउनुलाई उनले एक अवसरको रूपमा अर्थ्याए।

एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने जानकारी समेत गुरुङले दिए। बालुवाटारको १४ रोपनी जग्गा मीनबहादुर र उनको परिवारको नाममा मात्रै गएको देखिएको थियो। मीनबहादुरकै नाममा साढे चार आना छ भने उनकी छोरी कामना गुरुङका नाममा तीन रोपनीभन्दा केही बढी र छोरा कल्याणको नाममा तीन रोपनी छ।

त्यस्तै मीनबहादुरका आफ्नै भाइ पहलमान गुरुङकी पत्नी सरलाको नाममा चार रोपनी जग्गा देखिएको थियो। भाटभटेनी सुपरमार्केटकै नाममा तीन रोपनी देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पत्ता लगाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उनी १२ असार २०८० मा दोस्रो पटक पक्राउ परेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.