"/>

पक्राउ परेका रविको आक्रोश, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

पक्राउ परेका रविको आक्रोश, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौँ : पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। दुई पटक गृह मन्त्रालयको बागडोर सम्हालेका लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका हुन्। 

दोस्रो पटक गृहमन्त्री बन्दा जीवी राईलाई पक्राउ गरेर ब्रेकिङ न्युज दिने बताएका लामिछाने अन्ततः सरकारबाट बाहिरिएको तीन महिनामा आफैँ पक्राउ परे। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएकै दिन शुक्रवार प्रहरीले लामिछानेलाई पक्राउ गरेर पोखरा लगेको छ। 

कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.पोखराको पुर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

अदालतको पक्राउ अनुमति साथै राखेर कास्की प्रहरीले लामिछानेको खोजतलास गरी फेला परेमा पक्राउ गरी पठाई दिन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा भद्रकालीलाई पत्र पठाएको थियो। 

रविलाई पक्राउ गर्न तारन्तार बैठक, प्रत्युत्पादक हुने प्रचण्डको ब्रिफिङ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेलाई प्रहरीले उनकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो। लामिछानेलाई पक्राउ गर्न बिहीबार मात्रै बालुवाटार तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो। लामिछानेलाई पक्राउ गर्ने जानकारी शुक्रवार बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूको बैठकमा दिएका थिए। 

प्रचण्डको ब्रिफिङ पछि लामिछानेले भिडियो सन्देश मार्फत अपिल गरेका थिए। प्रहरीले गिरफ्तार गर्दै गर्दा पनि लामिछानेले आफू पक्राउ पर्नुलाई राजनीतिक पूर्वाग्रहको रूपमा अर्थ्याएका छन्।

उनले कुनै अपराध नगरेको जिकिर गर्दै न्यायिक प्रक्रियामा सघाउने बताए। उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु।’

राज्यको दादागिरीको डटेर सामना गर्ने पनि उनले बताए। ‘सम्झौता गरेको भए सरकार लम्बिन्थ्यो। कुनै पनि किसिमको सम्झौता गरिन,’पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,’कुनै पनि अपराध गरेको छैन। नेपाली नागरिकले हेरेका छन्।’

सहकारीको बचत रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछानेलाई कानुनी कारबाही गर्न सिफारिस गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गरेको छ। कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठम्याई गरिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा लेखिएको छ,’तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ। तर, कानुनका छिद्रमा टेकेर रास्वपा र सभापति माथि साँधिने राजनीतिक प्रतिशोध कदापि स्वीकार्य छैन।’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको आरोप रास्वपाले लगाएको छ।

विज्ञप्तिमा लेखिएको छ,’गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्। हामी डराएका छैनौँ, तर्सिएका हैनौँ। अब परिवर्तनको लडाई थप बुलन्द भएको छ। हामी यो देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई आह्वान र अनुरोध गर्न चाहन्छौँ, यो देशमा दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन सचेत रहनुहोस्।’ 

पक्राउ पर्नु केही समय अघि सामाजिक सञ्जालमा लामिछानेले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भनेर आक्रोशित स्ट्याटस समेत लेखेका थिए।

लामिछानेको स्ट्याटस : 

तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी?? 

तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने? 

तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । 

तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनु पर्ने? 

यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनु भो। वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रो सँग थाहा छ।तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो। तपाईँहरूका दलका नेता र कार्यकर्ता प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन् कोही फरार छन्। तपाईँहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईँहरू बाट पीडितले न्याय पाउँदैनन्। त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ। 

ठिक छ,म तपाईँहरूको दिनगन्ती सुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। सुरुवात तिमीहरूले गर्‍यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायालय प्रति आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.