काठमाडौं : सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको यो वर्षको तिहार हिरासतमै बित्ने भएको छ।
कास्की जिल्ला अदालतले रवि र उनका पार्टनर छविलाल जोशीमाथि अनुसन्धान गर्न ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। बिहीबार थपिएको म्याद सकिँदा तिहारको बिदा सुरु भइसक्ने हुँदा लामिछानेको यो वर्षको तिहार हिरासतमै बित्ने भएको हो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी सहित सहकारी प्रकरणमा पक्राउ परेकी लीला पछाइलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कात्तिक २ गते शुक्रवार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालतले पहिलो पटक ६ दिनको म्याद दिएको थियो। रविका पक्षमा बहस गरेका अधिवक्तासमेत रहेकी रास्वपा सांसद सोभिता गौतम सहित ६ जनाले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको र अहिलेसम्म एउटा पनि नयाँ तथ्य प्रहरीले पत्ता लगाउन नसकेको दाबी गरे।
सरकारी वकिल र जाहेरीवाला तथा पीडित पक्षका अधिवक्ताले सहकारीको रकम अपचलनमा जीवी अगाडि देखिए पनि पर्दा पछाडि रवि रहेको जिकिर गरे।
सरकार पक्षको दाबी सुनेपछि रविले आफैँले न्यायाधीशसँग अनुमति लिएर राजनीतिक प्रतिशोध राखेर आफूलाई पक्राउ गरेको र ६ दिन हिरासतमा राख्दा पनि एउटा पनि नयाँ तथ्य पत्ता लगाउन नसकेको भन्दै इजलासमा आक्रोश पोखे।
न्यायाधीश पौडेलले ‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो’ भनेर सम्झाएपछि रविले आफू अन्यायमा परेकाले बोलीमा आक्रोश निस्किएको भन्दै माफी मागेका एक अधिवक्ताले सुनाए।
लामिछाने र जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो।
तिहारमा कास्की प्रहरीको हिरासतमै रहने पक्का भएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, उपाध्यक्ष छविलाल जोशीलाई पक्राउ गरी सङ्गठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले जीवी, छवि र रविलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। रविलाई शुक्रकार नै पोखराबाट रुपन्देही पुर्याएर बयान लिने तयारी भएको छ।
रास्वपालाई राप्रपाको प्रश्न : रवि पक्राउ पर्दा छोएर देखाऊ भन्ने?
बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोप उनीहरूमाथि छ। रवि तत्कालै रिहा हुने सङ्केत नदेखिए पछि पोखरा केन्द्रित आन्दोलन गरिरहेको रास्वपा काठमाडौं फर्कने भएको छ।
सहकारी पीडितसँग आन्दोलन आमनेसामने हुने भएपछि रास्वपाले बिहीबार पोखरामा अन्तिम प्रदर्शन गरेको छ। घरदैलो गरेर आन्दोलनमा सहभागी हुन अनुरोध गर्दा पनि पोखरेलीहरूको साथ नपाए पछि रास्वपा अब काठमाडौं फर्केर आन्दोलन गर्ने निष्कर्षमा पुगेको हो।
पीडितहरूले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने, बचत रकम फिर्ता गर्नुपर्ने माग राखेका छन्। सहकारी पीडितहरूले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरूको घर घरमा पुगेर धम्क्याएको आरोप समेत लगाएका छन्।
सहकारी पीडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यकर्ताले सहकारी पीडितलाई धम्की नदिएको दाबी गरे।
लामिछानेलाई थप ७ दिन हिरासत राख्न कास्की जिल्ला अदालतले अनुमति दिएपछि रास्वपा कार्यकर्ता भने आक्रोशित भएका छन्। सभापति लामिछाने पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू ७ दिन थपेपछि उत्तेजित देखिएका छन्।
रविलाई दोस्रो पटक अदालत लगिँदा निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्ताले म्याद थपको सूचना लगत्तै न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाएर नारा लगाए।
निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा रोक्न खोजे पनि नमानेपछि प्रहरीले बल प्रयोग गरेको छ। आफूहरूको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेपछि रास्वपाकी सांसद तोसीमा कार्कीले बयान नलिएर म्याद मात्रै थपेको भन्दै आक्रोश पोखिन।
बहाना पर्खिरहेको नेकपा माओवादी केन्द्रलाई रवि पक्राउ सरकारको विरोध र आन्दोलन गर्ने मसला बनेको छ। माओवादीले सत्ताबाट विमुख गराएका काँग्रेस र एमालेका नेताहरूलाई प्रमाण हुँदा हुँदै पनि पक्राउ नगरेको आक्रोश पोखेको छ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई सरकारले संरक्षण गरेको आरोप उसले लगाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकार आफ्नालाई बचाएर बाँकीलाई अनुसन्धानमा तान्ने प्रयासमा लागेको बताए।
माओवादी केन्द्रले पर्सी शनिवार काठमाडौँमा प्रदर्शन गर्दैछ। यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो। सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीले प्रदर्शन गर्न लागेको हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.