प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि रवि लामिछाने इजलासमा भने :
जहाँ पनि तपाईँको चल्छ, कोर्टमा पनि तपाईँको चल्छ? एउटा कागज साइन गर्ने मान्छेलाई अन्याय गर्ने हद हुन्छ श्रीमान्। हद गरेका छन् श्रीमान् यिनीहरूले मलाई हद गरेका छन्। मलाई यिनीहरूले एउटा टेलिफोन गर्न दिँदैनन्। अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्। हद गरेको छ राज्यले। अहिले भर्खर के कागजमा साइन गरेको भनेर सोध्न आउनु भएको उहाँ। तपाईँहरू मलाई कागज हस्ताक्षर गर्न दिनुहुन्न!
६ दिनदेखि हिरासतमा छु। चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरू दोहोरिएका छन्, तेहेरिएका छन्। मैल श्रीमान्लाई पाइलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान्। सम्मानित संसदीय समितिको त्यो ठुलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले। एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ?
राज्य दम्भ देखाउँछ, बयान लिँदैन, छल्छ। अनि आदेश दिइएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ। डर देखाइसकियो, चितवनमा सिडिओ र एसपी फालियो अब यहाँका त्राहिमाम् हुनुहुन्छ। मलाई आँखाभरि आँसु पारेर ‘हामीलाई थाहा छ तपाईँको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरू नै। मैले यहाँ नबोलेर कहाँ बोल्ने? चरम अन्याय भइरहेको छ। सुनुवाइ कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिँड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छैन। मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ। तर, मलाई यसमा पनि विश्वास छैन। किनकि, एक्स्ट्रा अडिनरी विषयमा एक्स्ट्रा अडिनरी कुरा हुन्छ। गलत तथ्यहरू दिइएको छ, गलत कुराहरू भन्दै आइरहेको छ। श्रीमान् मलाई तर्साइएको छ। सहकारीको सर्भरको कुरा गरिएको छ। नयाँ के तथ्य छ? अनि, कुन चाहिँ प्रश्न लुकेको छ यहाँ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहीँ छ। सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ ।
श्रीमान्, हिजो राति फोन गरिगरी बोलाएर, लाइन लगाएर उजुरी दिन आउँ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ। यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु। आज मैले श्रीमान्सँग भन्नु पर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा। मेरो पक्षमा कार्यक्रम हुँदा खेरि सहकारी ठगीलाई कारबाही गर भन्दै पार्टीका कार्यकर्ता मात्र होइन जिम्मेवार नेताहरूलाई सडकमा पठाउँछन्।
यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौँ। उनीहरू शान्त रूपमा आन्दोलन गरेर बसेका छन्। शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ। वृद्ध बा–आमाहरू आएका छन्। त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ। अनि हिंसा भड्काउने कार्य हुन्छ। के आफ्नो बारेमा शान्त रूपमा आवाज उठाउन पनि पाइँदैन श्रीमान्? स्वतन्त्र रूपमा प्रदर्शन गर्न पनि पाइँदैन श्रीमान्? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ नयाँ दल पनि उस्तै हुन्!
दुई तिहाइको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ। यतिखेर न्यायालय बाहेक कसैको आशा हुन सक्दैन श्रीमान्। मलाई न्यायालयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान्।
एउटा जाँच एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान्? म यो ठुलो आवाजका लागि क्षमा चाहन्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठुलो भएको हो।
तत्कालीन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सीआइवीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छैन, कतै प्रतिवादी होइन भनेर संसदमा भन्नु भएको होइन। त्यतिखेरका सत्ता साझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनेका कुरा अहिले काम लागेन? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनु भएको होइन? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन? गर्न बाँकी केही छैन श्रीमान्। तर पनि सहकारी ठगेको मुद्दा लगाइएको छ, सङ्गठित अपराधसमेत भनिएको छ।
रविको तिहार हिरासतमै, कार्यकर्ता काठमाडौं फर्कँदै
म विदेशमा बेचिएका चेलीहरूलाई देशमा ल्याउने सङ्गठित अपराधमा लागेको रहेछु श्रीमान् सजाय पाऊँ। म विदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने सङ्गठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान्। म बाढीले बगाएको बस्ती मधेसमा बनाउने सङ्गठित अपराधमा हिँडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान्। म दुर्गम कालिकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो सङ्गठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान्।
श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ। मैले आफूलाई सम्हालेर बसेको छु। एउटा परिस्थिति बनेपछि श्रीमान् समक्ष आफ्नो कुरा राख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो। तर, मैले केही पनि गर्न नहुने!
मैले चुनाव लड्न नहुने, सांसद/मन्त्री हुन नहुने। अनि, म नागरिक हुन नहुने। विना आधार र प्रमाण म हिरासतमा बस्नु पर्ने? ६/६ दिनसम्म राखेर मसँग जम्मा ४ घण्टा बयान लिइएको छ। ल्याएर राख्ने, लिङ्गरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने?
सल्लाह भए बमोजिम, सरकारले घेराबन्दी गरे बमोजिम मलाई अन्य थप मुद्दा, सम्पत्ति शुद्धीकरण, यो शुद्धीकरणसम्म लगाउने? सहकारी पीडित कतिले आत्महत्या गरे, मलाई आत्महत्या दुरुत्साहनको पनि अभियोग लगाइदिनुस्। यो चाहिँ किन छोड्नु र श्रीमान्?
मेरो आक्रोश श्रीमानप्रति होइन। उजुरी परेका तिनै सहकारीहरू ठाउँ–ठाउँ पुर्याउने कुरा गरिँदै छ। मलाई सहारा, सुप्रिम, सानो पाइला सहरकारी भएका ठाउँमा लैजाने कुरा छ। श्रीमान् मैले अब दिनुपर्ने कति वटा जाँच बाँकी छ?
म अन्यायको शिखरमा उभिएर न्यायको आशा गरेर श्रीमान्तर्फ हेरेर बसिरहेको छु। नियमित भएको प्रक्रियाले के भन्छ मलाई थाहा छैन। मलाई न्यायालयबाहेक अरू केही विश्वास, भरोसा र आस छैन।
यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुई तिहाइको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरू कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस्। यो बेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु। म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर विनम्र पूर्वक क्षमा माग्दै आफ्नो कुरा टुङ्ग्याए श्रीमान्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.