"/>
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले लोकतन्त्रको आफू अनुकूल व्याख्या गरेका छन्। सभापति रवि लामिछाने पक्राउ परे पछि अधिनायकवाद निम्तिएको रास्वपाले जिकिर गरेको छ। प्रधानमन्त्री ओलीले भने रास्वपा अराजकता निम्त्याउन लागेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भएको बताए। सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने बताए।
लामिछानेको बचाउमा दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपाले भने लोकतन्त्र बचाउन आन्दोलन गरेको बताएको छ। मङ्गलवार बालुवाटारबाट आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछि आक्रोशित रास्वपाका सांसद सन्तोष परियारले प्रधानमन्त्री ओलीलाई नै लोकतान्त्रिक हुन सुझाव दिएका छन्।
बालुवाटार प्रदर्शनका क्रममा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ। दिउँसो बालुवाटार घेराउ गर्न पुगेका केन्द्रीय सदस्य पुकार बम, सांसद अशोक चौधरी, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौँका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परे लगत्तै रास्वपाले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शन बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रवैयाको निन्दा गरेको छ। रास्वपा सांसद परियारले सहकारी डुबाउने काँग्रेस र एमाले नै भएको आरोप समेत लगाए।
लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेपछि रास्वपाको सिङ्गो शक्ति सरकारविरुद्ध खनिएको छ। उसले पुराना दलहरूलाई आउँदो चुनावमा पाखा लगाउने चेतावनी पनि दिएको छ। पहिलो पटक स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन लागेको रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवार घोषणा गरेको छ।
विधिको शासनको हुङ्कार गर्ने रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले भने हावाहुरीको संज्ञा दिएको छ। रास्वपालाई लक्षित गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले फेद न टुप्पो केही नभएको हावादारी र पुराना दलहरूलाई भोट दिएर देशलाई वरवादीमा नलैजान भनेका छन्।
लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाएको दोस्रो पटकको म्याद बुधवार सकिँदै छ। सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बयान लिने क्रम अझै जारी नै रहेकाले प्रहरीले तिहारपछि मात्रै म्याद थप गर्ने तयारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेमाथि बयान चलिरहेको बताए। शर्माले लामिछाने अझ थुनामै बस्नुपर्ने बताए। कानुनी रूपमा पछिल्लो पटक थप भएको म्याद बुधवारसम्म रहेकाले तिहारपछि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइने उनले जानकारी दिए।
बिहीबार लक्ष्मीपूजादेखि टिकाको भोली पल्ट १९ गतेसम्म तिहारको सार्वजनिक बिदा रहेकाले लामिछाने तिहार अवधिमा हिरासतमै रहनेछन्। प्रहरी अब कात्तिक २० गते मात्र अदालतमा जानेछ।
तेस्रो पटक म्याद थप भएमा रवि अझै हिरासतमै बस्नुपर्ने छ। जिल्ला अदालत कास्कीबाट लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले पहिलो पटक कार्तिक २ गते र दोस्रो पटक कार्तिक ८ गते अनुमति पाएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.