निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विकास र लगानी नरोक्न ढकालले गरे आग्रह 

विकास र लगानी नरोक्न ढकालले गरे आग्रह 

166
SHARES

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन्।  

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे। ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोच हटेको छैन,’उनले भने,’यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ।’  

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठुला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठुलो पुँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए। ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो। तर अहिले त्यो क्षेत्र समृद्ध छ,’उनले भने,’स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ।’
  
ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत उनले बताए। 

हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठुला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए। ‘म यो दसैँ लगत्तै कोरोलासम्म पुगेर आए। कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडीमै पुगेँ। बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ। बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ। हाम्रो गण्डकी प्रदेशले पनि ठुलै फाइदा लिन सक्छ,’उनले भने,’यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्।’  

आफू महासङ्घको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासङ्घले पहल गरिरहेको बताए। उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे। ‘हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्‍यौँ, कुन कुन आयोजना सुरु गर्‍यौँ वा कुन कुन आयोजना सम्पन्न गर्‍यौँ,’उनले भने,’त्यसले नै हाम्रो सफलता वा असफलताको सङ्केत गर्नेछ। त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ।’  

मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। ‘नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको छ। यहाँहरूसँग व्यावसायिक सोच छ, त्यसमा इक्विटीको अभाव छ,’उनले भने,’तपाईँहरूको उक्त सोचमा त्यस कम्पनीले लगानी गर्नेछ भने यहाँहरूसँग बचत छ र कुनै सम्भावित आयोजनामा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईँहरूले पनि यस कम्पनीमार्फत त्यसमा लगानी पनि गर्न सक्नुहुन्छ।’

समाचार शेयर गर्नुहोस्
166
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.