"/>

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार आकर्षणको केन्द्र

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार आकर्षणको केन्द्र

काठमाडौँ : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा दुई जना तेस्रोलिंगी उम्मेदवार आकर्षणको केन्द्र बनेका छन्। कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका तेस्रोलिंगी महिला दीपक महर्जन (हनि) र ४ नं. वडा अध्यक्षका उम्मेदवार राजीव महर्जन (मौनी) आकर्षणको केन्द्र बनेका हुन्।

हनि र मौनी कीर्तिपुरका मतदातासँग दुई हात जोडेर भोट मागिरहेका छन्। उनीहरूलाई उम्मेदवार बनाएको जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताहरू कीर्तिपुरमा केन्द्रित बनेका छन्। हनि र मौनीसँगै लुकेर बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई खुलेर आउनु जसपा नेपालका नेताहरूले अनुरोध पनि गरिरहेका छन्।

कीर्तिपुरको विकासका लागि तेस्रोलिंगी महिला उम्मेदवार योजना सुनाउन भ्याएसम्म मतदाताको घरदैलोमा पुगिरहेका छन्। अन्तरक्रिया, कोणसभा जस्ता चुनावी प्रचारका कार्यक्रममा सहभागी बनेका छन्। उनीहरूलाई मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवार बनाएको हो।

तेस्रोलिंगी उम्मेदवार दुवैले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन्। स्वास्थ्य उपचार सेवा, शिक्षासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान गर्ने प्रतिबद्धता जनाएका हनि र मौनीले नगरको सेवालाई प्रविधिमैत्री बनाउने उद्घोष गरे।

भ्रष्टाचार अन्त्य गर्न पनि नगरको सेवालाई डिजिटलाइजेशन गर्नुपर्नेमा उनीहरूले जोड दिए। देशको राजधानी काठमाडौँको कीर्तिपुर नगरलाई सधैँ बत्तीमुनिको अँध्यारोमा नराख्न आफूहरू उम्मेदवार बनेको हनि र मौनीले बताए।

उपनिर्वाचनमा उम्मेदवार बनेका हनि र मौनीको चुनाव प्रचारमा सहभागी हुन पाउँदा खुसी महसुस गरेको एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बताए। उनले लोकतन्त्रमा समावेशी महत्त्वपूर्ण हुने बताउँदै जसपा नेपालले उदार समावेशी चरित्र देखाएको बताए।

उनले समाजमा सधैँ पछाडि पारिराखेको वर्ग अगाडी आउनु स्वाभाविक भएको बताए। ‘समाजमा सधैँ पछाडि पारिराखेको वर्ग अगाडी आउँदै गर्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविक नै हो,’ मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले भने,’हामीले समाज परिवर्तनको लागि लोकतान्त्रिक चरित्र देखाउँदै अगाडी बढ्ने हो भने अचम्म मान्नु पर्दैन।’

समाजमा रहेको सबै जनसमुदायले आफ्नो सहभागिता, आत्मसम्मान सहित बाच्ने अधिकारको हक राख्ने उनले बताए। ‘त्यसैको स्वरूपमा आज हामीसँग हनि महर्जन र मौनी महर्जन अगाडी आउनु भएको छ,’उनले भने,’उमेर पुगेका कुनै पनि वयस्क नागरिकले भोट हाल्ने र चुनाव लड्ने अधिकार लोकतन्त्रमा हुन्छ, त्यो उहाँहरूलाई छ।’

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले सांस्कृतिक नगरी कीर्तिपुरमा सुरुदेखि उठाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको आवाज बुलन्द गर्ने प्रयत्नमा साथ दिन भनेका छन्। कीर्तिपुरलाई संसारमा चिनाउने र पर्यटक भित्र्याएर नगरलाई संवृद्ध बनाउने योजनामा साथ दिन उपाध्यक्ष बज्राचार्यले आव्हान पनि गरे।

उनले विभेद विरुद्ध लड्नका लागि हिम्मत गरेका हनि र मौनीलाई भोट दिएर निर्वाचित गराउन अनुरोध गरे। ‘धेरै सङ्घर्ष भए पनि जनताले सोचे जस्तो व्यवस्था ल्याउन सकेको छैन। जसपा नेपालले सङ्घर्ष जारी राखेको अवस्था छ,’उनले भने,’विभेदकारी कानुनलाई पनि हटाउनु पर्ने छ। दुई खुट्टा टेकेर मात्रै मानव हुँदैन। सोचमा मानवता झल्किनु पर्छ।’

जसपा नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवालले पहिचान सहित खुलेर आएका उम्मेदवारलाई जिताउन मतदातासँग अपिल गरे। ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै, उहाँहरू आफ्नो पहिचानसहित खुलेर आउनु भएको छ,’सिलवालले भने,’उहाँहरूलाई विजयी गराएर संसारमा कीर्तिपुर नगरको नाम राख्ने अवसरबाट नचुक्नुहोला।’

जसपा नेपालका अर्का केन्द्रीय सदस्य दीपक दोर्जेले जनता समाजवादी पार्टी नेपाल अधिकारवादी पार्टी भएको बताए हो। ‘अधिकारको निम्ति लडाई नै उम्मेदवारी हो, अधिकार दिने ठाउँमा पनि प्रतिनिधित्व हुनुपर्‍यो,’उनले भने,’लिने ठाउँमा मात्रै होइन, दिने ठाउँमा पनि पुग्नुपर्छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.