कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवारलाई भोट किन?

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवारलाई भोट किन?

चुनाव प्रचारमा सहभागी हुन पाउँदा खुसी महसुस भएको छ। जसपा नेपालले उदार समावेशी चरित्र देखाएको छ। लोकतन्त्रमा समावेशी महत्त्वपूर्ण छ। सुन्दर उदाहरण हो। कतिले खुसी व्यक्त गर्नु भएको होला। कतिलाई अचम्म लागेको होला। यो समाजमा सधैँ पछाडि पारिराखेको वर्ग अगाडी आउँदै गर्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविक नै हो।

तर, हामीले समाजको परिवर्तनको लागि लोकतान्त्रिक चरित्र देखाउँदै अगाडी बढ्ने हो भने यस्ता खाले अचम्महरू प्रति अचम्म मान्नु पर्दैन। समाजमा रहेका सबै जनसमुदायले आफ्नो सहभागिता एउटा आत्मसम्मान सहित बाच्ने अधिकारको हक राख्दछ र त्यसैको स्वरूपमा आज हामीसँग हनि महर्जन र मौनी महर्जन अगाडी आउनु भएको छ। उमेर पुगेका कुनै पनि वयस्क नागरिकले भोट हाल्ने र चुनाव लड्ने अधिकार लोकतन्त्रमा हुन्छ, त्यो उहाँहरूलाई छ।

नेपाली समाजमा मुख्य रूपमा दुई वटा समस्या छन्। एउटा संरचनागत समस्या छ। त्यो भनेको पितृसत्तात्मक समाज हो। जहाँ पुरुषहरू मात्रै अगाडी आउने पुरुषहरू मात्रै नेता हुने, पुरुषहरूले मात्र कानुन बनाउने, पुरुषहरू मात्रै हालीमुहाली गर्ने खालको छ। त्यसलाई चिर्नका लागि अझ ठुलो जनसङ्ख्या भएको तप्का महिलाहरूको हो। त्यस्तै तेस्रोलिंगीहरुको हो।

महिलाहरूको प्रतिनिधित्व अलिअलि बढ्दैछ। तर, हामीले समानुपातिक समावेशीको आधारमा प्रतिनिधित्व पनि देख्ने हो भने ५० प्रतिशतको हाराहारीमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने हो,त्यो छैन। अहिलेको संविधानले दिएको ३३ प्रतिशत पनि पुग्न सकेको छैन। त्यो संरचनात्मक, पितृसत्तात्मक संरचनात्मक समस्या हामीमा छ।

यो उपनिर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबाट उम्मेदवारी दिने दुई जना मात्रै हुनुहुन्छ र त्यो ऐतिहासिक सहर कीर्तिपुर बनेको छ। यदि पितृसत्तालाई कमजोर बनाउँदै सबैको समान हकको लागि अगाडी जाने हो भने हनि र मौनीलाई यहाँहरूले अत्यधिक मतले विजयी गराउनु पर्छ।

यो पनि : कीर्तिपुरलाई उत्कृष्ट नगर बनाउने हनिको योजना

अर्को समस्या भनेको हाम्रो जुन खालको नैतिक मूल्य मान्यताहरू गिर्दै गएको छ। पार्टीहरूमा झगडा छ। भ्रष्टाचार असाध्यै धेरै छ। माथिल्लो निकायदेखि तल स्थानीय निकायसम्म भ्रष्टाचार छ। ठुला पार्टीहरू भ्रष्टाचारी भएका छन्।

भ्रष्टाचारलाई अन्त्य गर्ने हो भने भ्रष्टाचारमा जकडिसकेको पार्टीहरूलाई नकारेर नयाँ फ्रेस खालका अनुहारहरूलाई अगाडी ल्याउनु पर्छ। जसले समस्याको पिँधमा बसेर भोगेको पनि छ,त्यस्तो व्यक्तिलाई अगाडी ल्याउन सकियो भने अनि समाजमा समस्या यो यो छन् भनेर बुझिसकेको मान्छेले समाधान दिन पनि सजिलो हुन्छ।

कीर्तिपुरले पुरा नेपाललाई एउटा पाठ सिकाउन हनि महर्जन र मौनी महर्जनलाई जिताइदिनु भयो भने यसले एउटा पितृसत्ताप्रति झटारो हानेको हुन्छ। अर्को भ्रष्टाचारको विरुद्धको आवाज पनि कीर्तिपुरले दिएको भन्ने सन्देश दिन सक्छ। डिजिटलको जमाना छ। प्रशासन संयन्त्रलाई डिजिटलाइजेशन बनाउने, ग्रिन इनर्जी, रोजगारीको योजना हनि र मौनीसँग छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मात्र हेर्छु भन्नु भएको छैन, यस्ता व्यक्तिहरू जसले आफू सीमान्तकृत भएर पनि समग्र समाजको लागि विकास गर्छौ भनेर सामाजिक चुनौतीकाबीच अगाडी आउनु भएको छ भने विश्वास गर्ने आधार त्यहीबाट थाहा हुन्छ।

(संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले चुनाव प्रचारका क्रममा व्यक्त गरेको धारणा)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.