गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्न महालक्ष्मी विकास बैङ्कको सहयोग

गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्न महालक्ष्मी विकास बैङ्कको सहयोग

काठमाडौँ : महालक्ष्मी विकास बैङ्कले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ।

सोहीअन्तर्गत महालक्ष्मी विकास बैङ्कका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू राउन्ड टेबल नेपाल र महालक्ष्मी विकास बैङ्कको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउन्ड टेबल नेपाल सँग समझदारी गरेको छ। यसबाट बैङ्कले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउन्ड टेबल नेपालले गर्दै आएको “बालबालिकालाई शिक्षित गरौँ “भन्ने परियोजनामा थप टेवा पुग्ने बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै तीनकुने टोल सुधार समिति, काठमाडौँलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन डस्टबिन वितरण गरेको छ। ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो। बैङ्कको सामुदायिक सरसफाइमा योगदान पुर्‍याउने दीर्घकालीन प्रतिबद्धता अनुरूप यस किसिमको सहकार्य गरिएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरूप ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरूको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभूषणहरूको प्रदर्शन गर्न आयोजित“पाटन हेरिटेज रनवे”आयोजना गर्न आर्थिक सहयोग गरेको छ।

त्यसै गरी दैनिक कामकाजलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिद्धार्थनगर, रुपन्देहीलाई बैङ्कले आर्थिक सहयोग गरेको छ। यस पश्चात् मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुने अपेक्षा गरिएको बैङ्कले जनाएको छ।

बैङ्कले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।

बैङ्कले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैङ्कको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.