काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक चीन भ्रमणबारे जानकारी गराएका छन्। चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई सँगै राखेर प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणको तयारीका लागि चीन गएकी परराष्ट्रमन्त्री राणाले स्वदेश फर्के लगत्तै चीनलाई नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको प्रस्ट रूपमा राखेको बताइन।
अनुदान लिन सक्ने तर, ऋण लिन नसक्ने नेपालको अवस्थाबारे जानकारी गराएको उनले बताइन। चिनियाँ पक्षबाट आफ्नो कुरा राम्रोसँग सुनेको उनले प्रतिक्रिया दिइन।
परराष्ट्र मन्त्री राणाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन। बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गराउँदै उनले सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने सुनाइन।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी लि छ्याङको निमन्त्रणामा चीन जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको प्रवक्ता कृष्णप्रसाद ढकालले बताए।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनले नेपाललाई गर्ने सहयोग थप हुने प्रवक्ता ढकालले बताए। कनेक्टिभिटी, ट्रेड, टुरिजम, इन्फ्राइन्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायत सहयोगका क्षेत्रमा थप छलफल हुने उनले जानकारी दिए।
परराष्ट्र विद्हरूले भने प्रधानमन्त्री ओलीको चीन भ्रमण परम्परागत बन्ने टिप्पणी गरेका छन्। नेपालमा प्रधानमन्त्री बन्ने बित्तिकै विदेश भ्रमण जाने तर पुरानै एजेन्डा, सम्बन्ध नवीकरण र दुई देशको आपसी हितमा कुरा गरेर फर्कने परम्परा यथावत् रहेको उनीहरूको दाबी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.