नेपाललाई करिब ९ अर्ब अनुदान दिने चीनको घोषणा, बीआरआईमा जुटेन सहमति

नेपाललाई करिब ९ अर्ब अनुदान दिने चीनको घोषणा, बीआरआईमा जुटेन सहमति

राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विभिन्न ९ सम्झौतामा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ र राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृतकुमार राई र चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए।

ढकालका अनुसार ९ सम्झौतामध्ये टोखा छहरे सुरूङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्र, नौ तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो।

विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीसँगै चीनमा रहेका ढकालले विज्ञान प्रविधिदेखि कनेक्टिभिटी क्षेत्रमा सम्झौता भएको जानकारी दिए।

सम्झौतामा हस्ताक्षर भए लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग भेट गरे। भेटमा राष्ट्रपति सीले नेपाल चीन पुराना र असल छिमेकी तथा मित्र राष्ट्र भएको बताउँदै दुई देशको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित भएको उल्लेख गरे।

नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने बताएका राष्ट्रपति सीले करिब ९ अर्बको अनुदानसहित सहयोगको घोषणा गर्दै चिनिया लगानी नेपाल पठाउन पहल गर्ने बचन दिनुभएको प्रवक्ता ढकालले बताए।

प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको भन्दै सम्बन्धको मूल आधार सार्वभौमिक समानता, राजनीतिक स्वतन्त्रता, आपसी समझदारी र विश्वास रहेको उल्लेख गरे।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली र राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा २०२५ मा भ्रमण गर्न प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट निमन्त्रणा गरेका हुन्। जवाफमा राष्ट्रपति सी र चिनियाँ प्रधानमन्त्री लीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताएका छन्।

नेपालले चिनियाँ पक्षलाई दिएको बीआरआई सम्झौताको फ्रेमवर्कमा भने सहमति भएन। नेपालले पठाएको फ्रेमवर्कमा ऋण नलिने अनुदान मात्रै लिने भन्ने बुझेपछि चीन सहमत नभएको हो। नेपाल सरकारले बीआरआई अन्तर्गत सबै परियोजनामा अनुदानको प्रस्ताव गरेको छ।

नेपालको प्रस्तावमा चिनियाँ पक्षले अनुदान शब्द हटाएर लगानी मात्रै राखे पछि कुरा अघि बढ्न नसकेको हो। यसअघि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले अनुदानका लागि चीन सकारात्मक रहेको ब्रिफिङ गरे पनि उच्चस्तरीय भेटमा बीआरआईसम्बन्धी छलफल नै नभएको भ्रमणमा सहभागी एक अधिकारीले बताएका छन्।

नेपालले चीनसँग अनुदान पाए ऋण नलिने

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.