भुटानी राजाको भारत भ्रमण, काठमाडौँ विमानस्थल प्रयोग गर्ने

भुटानी राजाको भारत भ्रमण, काठमाडौँ विमानस्थल प्रयोग गर्ने

काठमाडौँ : भुटानका राजा जिग्मे खेशर नाम्गेल वाङ्चुक बिहीबार दुई दिने औपचारिक भारत भ्रमणमा जादैछन्। भारत भ्रमणमा जाँदा भुटानी राजाले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएका छन्।

भुटानी राजा रानी ड्रुक एयरमा काठमाडौँ विमानस्थलमा ओर्लिने र लगत्तै भारत प्रस्थान गर्ने छन्। भुटानी राजाले काठमाडौँ विमानस्थल मात्रै प्रयोग गर्न लागेका सुरक्षा स्रोतले बताएको छ। दिल्लीबाट फर्कँदा पनि उनी काठमाडौँ विमानस्थलमा ओर्लिनेछन्। फर्किदा भने स्वयम्भू र बौद्धनाथ दर्शन गर्ने सम्भावना छ।

भारतको विदेश मन्त्रालयले भुटानका राजा र महारानी जेट्सुन पेमा वाङ्चुकको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ। डिसेम्बर ५ अर्थात् २० मङ्सिरमा भुटानका राजा रानी भारतको नयाँ दिल्ली जानेछन्। बिहान ९ः१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ।

भुटानी राजा रानीले ११ः३० बजे लोक कल्याण मार्गमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। दिउँसो साढे ३ बजे होटल ताज प्यालेसमा भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट गर्ने तालिका रहेको छ।

२० मङ्सिरमा भुटानी राजा भारतमै रहनेछन्। उनी भोलिपल्ट २१ मङ्सिरको बिहान ८ बजे फर्कने तालिका छ। भारतको दिल्ली हुँदै काठमाडौँ विमानस्थलमा ओर्लिने राजा रानी त्यही दिन भुटान फर्किने छन्। उनले काठमाडौँमा कसैसँग भेट गर्ने तालिका नै छैन।

राष्ट्रपति कार्यालयले भुटानी राजा आउने जानेबारे कुनै जानकारी नभएको बताएको छ। प्रवक्ता शैलजा रेग्मी भट्टराईले भुटानी राजा काठमाडौँ आउने जानकारी नभएको बताइन। उनले भारत भ्रमणमा जाँदा काठमाडौँको विमानस्थल हुँदै जान लागेको हुन सक्ने बताइन।

भुटानको ड्रुक एयर दिल्ली जाँदा काठमाडौँ विमानस्थलमा अवतरण हुने र दिल्लीबाट भुटान जाँदा पनि काठमाडौँ विमानस्थल नै प्रयोग हुँदै आएको सुनाइन। काठमाडौँ विमानस्थलमा ओर्लिने र फर्किने भए पनि भेटघाटबारे केही जानकारी नभएको उनले बताइन। यसबारे भुटानको सरकारी सञ्चारमाध्यम भुटान प्रसारण सेवाले पनि केही बताएको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.