काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन्।
प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआईको कार्यान्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए।
उनले परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको बताए। क्रेडिट रेटिङ हुनु आफैमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी उनले गरे।
अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए। ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानुन र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो। क्रेडिट रेटिङ हुनु आफैमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ,’उनले भने,‘पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ।’
अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद रहेको बताए। सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथमिकताका साथ राखेको जानकारी उनले दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.