बीआरआईमा आरजु र गगनको जुहारी, संसदमा छलफल हुनुपर्ने माग

बीआरआईमा आरजु र गगनको जुहारी, संसदमा छलफल हुनुपर्ने माग

काठमाडौं : सरकारले नेपाल र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको प्रस्टीकरणमा समय खर्चँदै आएको छ। बीआरआई सम्झौताबारे सत्ता गठबन्धनको काँग्रेसका मन्त्री र पार्टीका नेताहरुबीच वाक युद्ध चलिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणाले पार्टीका नेताहरूलाई ऋण स्वीकार नगर्ने सम्झौतामा बुझ्दै नबुझी टिप्पणी नगर्न भनेकी छन्।

इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले ऋण लिने कुरा बचपना भएको बताइन। ‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मन्जुरी र आग्रहमा हुने हो नि। हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबरजस्ती गर्छ त?,’उनले भनिन्,‘त्यसैले सरकारले ऋण लिने गरी सम्झौतामा हस्ताक्षर गर्‍यो भन्नु बचपना मात्र हो।’

चीन भ्रमणबाट फर्किए पछि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले चीनसँग ऋण लिने सम्झौता नगरेको प्रस्टीकरण दिएका थिए। सरकारका मन्त्रीहरूले पनि बीआरआईमा ऋण लिने सम्झौता नभएको जिकिर गर्दै आएका छन्।

बीआरआई सम्झौताअनुसारका परियोजनाहरू दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सम्झौता अघि बढ्ने परराष्ट्रमन्त्री आरजुले सुनाइन।

नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेशमन्त्रीसँग पनि राखेको र उहाँहरू यस विषयमा सहमत भएपछि निकै मेहनत गरेर नेपालले बीआरआई अन्तर्गत नै कोअपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमति अनुसार हस्ताक्षर भएको दाबी उनले गरिन्।

उनले बीआरआईअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायता जस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन।

तर, काँग्रेसका महामन्त्री गगन थापाले भने ऋण लिएर कुनै पनि परियोजना बनाउन अब काँग्रेसले नदिने बताएका छन्। काँग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न काँग्रेसले नदिने बताए।

बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले सम्झौतालाई संसदमा लगेर छलफल गर्नुपर्ने माग गरे। अहिलेसम्मको सबैभन्दा खराब ऋण पोखरा विमानस्थल निर्माणको रहेको भन्दै महामन्त्री थापाले देशलाई श्रीलङ्का, पाकिस्तानलगायतका देशहरूको जस्तो ऋणको पासोमा पर्न काँग्रेसले नदिने उल्लेख गरे।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले पर्याप्त ध्यान पुर्‍याउन नसकेको बताएका छन्। चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताए।

बीआरआईमा हस्ताक्षर गर्नै पर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको खनालले टिप्पणी गरे। छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनले बताए।

चिनियाँ कम्पनीले निर्माण गरेको बिजनेस कम्प्लेक्स उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भने आइतबार गृह जिल्ला झापा जादैछन्। झापाको दमकमा बहुपयोगी १८ तले भवन एक अर्ब ४५ करोडको लागतमा निर्माण सम्पन्न भएको छ।

भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष् ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले जानकारी दिए।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए। प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको शनिवार नै उद्घाटन गर्ने कार्यक्रम रहेको नगरप्रमुख गोपाल बुढाथोकीले जानकारी दिए। बीआरआई

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.