“ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

“ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ।

उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन–भन्ने नारालाई आत्मसाथ गर्दै बैङ्कले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैङ्कको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रवार हाट बजार सञ्चालन गर्ने जनाएको छ।

बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाट बजारको उद्घाटन गरे। रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए।

हाट बजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए। ‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो। यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्धन गर्न सकिन्छ। हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन्,’उनले भने,’यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्धन गर्नु बैङ्कको पनि दायित्व हो।’

उनले हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामाग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए।

आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.