"/>

ओलीले खोजे रेसपेक्ट, सुनाए भोकभोकै जङ्गल राखेको कुरा

ओलीले खोजे रेसपेक्ट, सुनाए भोकभोकै जङ्गल राखेको कुरा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली बाघसँग डराएका छन्। जङ्गलमा मात्र होइन गाउँमा हिँड्दा पनि कुकुर हो कि बाघ छुट्टाउन कठिन पर्ने सुनाए ओलीले। बाघको सङ्ख्या घटाउन खोरसमेत विदेशीलाई उपहार दिने बताए उनले।

सन् २००९ मा ११० वटा बाघ रहेकोमा अहिले साढे तीन सय पुगेको तथ्याङ्क प्रस्तुत गरेका ओलीले मान्छे ख्वाएर बाघ पाल्न नसकिने उल्लेख गरे। ‘मान्छे खुवाएर बाघ पाल्ने? अलिअलि खान्छ नि बाघ भएपछि,’दुवै हात आफूतिर सोझ्याउँदै ओलीले भने,’हामीलाई खायौ भने के हुन्छ? आफूलाई खायो भने के हुन्छ? त्यो हेर्नुपर्‍यो नि।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधवार मात्र आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावललाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गराएका थिए। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङबाट घुस बापत जग्गा दान लिने निर्णयको विरोध गर्ने बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गराउने ओलीले भोलिपल्टै बाघको सङ्ख्या घटाउनु पर्ने अभिव्यक्ति दिए।

उनले पार्टीका नेताहरूको असन्तुष्टि र विरोधका कारण सम्मानित हुन नसकेको सङ्केत समेत गरेका छन्। ओलीले भोकभोकै बसेर जङ्गल राखेको सुनाए। ‘४७ प्रतिशत जङ्गल छ। भोकै बसिबसी जङ्गल राख्ने हामीलाई रेसपेक्ट हुनुपर्दैन। त्यसमा सहुलियत दिनुपर्दैन? हामी पनि ३० प्रतिशत राख्छौँ,’ओलीले भने,’धान, गहुँ फलाउँछौँ। टन्न खाएर बस्छौँ। हामीलाई ३० प्रतिशत जङ्गलले सास फेर्न पुग्छ।’

प्रधानमन्त्री ओलीले अरूको मात्र चिन्ता गर्न नसकिने जवाफ दिए। ‘अरूले हाम्रो चिन्ता नगर्ने, अनि हामीले मात्रै अरूको चिन्ता गर्ने?,’ओलीले भने,’बाघ पालेर आएका साथीहरू…। हामीले ठिक्क चाहिने खालका काम गर्नु पर्दछ।’

उनले पार्टीबाट निकालिएका रावत प्रति सङ्केत गर्दै बाघ थोरै पाल्न सकिने बताए। ‘बाघ साढे ३ सय पाल्ने होइन,अलि थोरै पाल्नु पर्छ। डेढ सय बाघ भए पुग्छ,’उनले भने,’उपहार दिऔँ हाम्रा मित्रहरूलाई। कोही बाज पालेका हुन्छन्,कोही मजुर पालेका हुन्छन्। त्यस्ता चरा के पाल्ने। बाघ पाल्ने नि। दिऊँ साथीहरूलाई विभिन्न देशलाई उपहार दिऊ। खोर समेत दिनुपर्छ भने पनि दिऊ।’

उनले अन्तर्राष्ट्रिय जगतमा नेपाली प्रतिनिधिमण्डलको उपस्थिति कमजोर देखिएको उल्लेख गरे। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवातिर सङ्केत गर्दै ओलीले लेक्चर सुनेर मात्रै नआउन भने। जर्मनीबाट सिधै भारतको दिल्ली पुगेर फर्किएकी परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन नसकेको तर्फ सङ्केत गर्दै ओलीले भने,’लेक्चर दिएर आउने होइन, निर्णय गराएर आउने। नेपाल देखिने हुनुपर्छ। सुनिने हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले ठुलठुला देशका धनी धनी मान्छेले अन्तर्राष्ट्रिय कन्फ्रेन्स, सेमिनारहरूमा सिकाएर जाने अवस्था रहेको सुनाए। ‘साढे ३ सय बाघ हामी पाल्ने। बाघ बढाउ भनेर उनीहरूले भन्ने हामी एप्रिसियट गर्ने। अनि हामी दङ्ग पर्ने। बढाएका छौ बाघ,’उनले भने,’यसरी हुँदैन। हामीले सक्ने गर्नुपर्दछ र हामीलाई विश्वले क्षतिपूर्ति दिनुपर्छ।’

उनले नेपालको गल्ती बिना वातावरण विनाश भएको बताए। क्षति भएको सुनाए। समुन्द्र फोहोर गर्ने र कार्बन उत्सर्जन गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने माग गरे ओलीले। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटरेशले नेपालको संसद्मा आएर नेपालले नगरेको गल्तीको सजाय पाइरहेको बताएको स्मरण गर्दै ओलीले भने,’क्लाइमेट जष्टिस नेपालले पाउनुपर्दछ।’

प्रधानमन्त्री ओलीले बिगार्ने कामको जिम्मेवारीमा नेपाल नरहेको बताए। पैसा जति कुम्ल्याएर हतियार बनाउने, अनि वातावरण सप्रिन्छ? त्यसकारण मृत्युको खेती होइन, वातावरण सपार्ने खेती गरौँ। शान्ति चाहिएको छ। शान्ति चाहिनका लागि फोक्सोमा स्वस्थ हावा पस्नुपर्‍यो नि? खोकेर राति सुत्न नसक्ने अवस्था बनेको छ। के को शान्ति? यस्तो खालको अवस्था छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.