निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

केबलकार शिलान्यासमा परराष्ट्रमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

केबलकार शिलान्यासमा परराष्ट्रमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

174
SHARES

कैलाली : कैलाली जिल्लाको कर्णाली चिसापानीमा केबलकार निर्माण हुने भएको छ। लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकार निर्माण हुने भएको हो।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्। कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन्।

टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।

जालपादेवी नाम दिइएको केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

लगानीकर्ता नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए।

केबलकार शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री डा. देउवाले सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावना दर्साउन र आयोजना समयमै सम्पन्न गर्न सबैमा अपिल गरिन।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरूलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए। ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाई लम्बाउन सकिन्छ। थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। थप रोजगारी सिर्जना गर्न सकिन्छ,’उनले भने,‘थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ।’

पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने र यसबाट राजस्व पनि बढी सिर्जना हुने उनले बताए।

अध्यक्ष ढकालले केबलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए।

यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरू र नेपाल सरकारका निकायहरूको सहयोग अन्य केबलकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि उनले उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्
174
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.