संविधानसभा चुनावको पर्यवेक्षण गरेका अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

संविधानसभा चुनावको पर्यवेक्षण गरेका अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

काठमाडौँ : अमेरिकाको ३९ औँ राष्ट्रपति बनेका जिमी कार्टरको निधन भएको छ। १०० वर्षको उमेरमा आइतबार दिउँसो कार्टरको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। उनी सबैभन्दा लामो समय जिउने राष्ट्रपति हुन्।

सन् १९७७ मा ह्वाइटहाउस प्रवेश गरेका कार्टर १९८० को चुनावमा भने पराजित भएका थिए। नेपालमा शान्ति प्रक्रिया जारी रहँदा सन् २००७ मा कार्टर काठमाडौँ आएका थिए।

सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका कार्टर २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका थिए। उनको संस्था कार्टर सेन्टर नेपालमा पनि सञ्चालित थियो। उनी नेपाल भ्रमण गर्ने अमेरिकी पूर्वराष्ट्रपतिहरु मध्ये पनि पर्दछन्।

बीबीसीका अनुसार हालका ४६ औँ राष्ट्रपति जो बाइडनले कार्टरलाई एक अभूतपूर्व राजनीतिज्ञ, राजनेता र मानवीयता पक्षधर व्यक्तिको रूपमा स्मरण गरेका छन्। बाइडेनले कार्टरलाई कुराले भन्दा काम मापन गर्न सकिने जीवन जिएको भनेका छन्।

४७ औँ राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा उनले सामना गरेका चुनौतीका लागि अमेरिकीहरू उनीप्रति कृतज्ञ रहने बताए। बाराक ओबामाले कार्टरसँग बिताएको समयलाई सम्झँदै ‘अनुग्रह, मर्यादा, न्याय र सेवासहितको जीवन जिउनुको अर्थ के हो भनेर उनले सिकाएको’ बताए।

कार्टरजस्तै ओबामाले समेत नोबेल शान्ति पुरस्कार पाएका छन्। ओबामाले उक्त पुरस्कार पहिलो कार्यकाल सुरु गर्दा पाए भने कार्टरले ह्वाइटहाउस छाडेको २२ वर्षमा पाएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्टरको निधनमा दुख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शान्ति, मानवअधिकार र परोपकारमा उनको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.