ग्लोबल आइएमई बैङ्कको निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैङ्कको निःशुल्क महिला स्वास्थ्य शिविर

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

यही पौष १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैङ्क १९औँ वर्षमा प्रवेश गर्दैछ।

उक्त अभियानअन्तर्गत बैङ्कले नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सात वटै प्रदेशहरूमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निस्शुल्क रूपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

बैङ्कले सबै प्रदेशहरूमा यही पौष महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ। जस अन्तर्गत बैङ्कले बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका वडा नं ११ मकवानपुरस्थित सरस्वती टोल हलमा पौष १८ गते बिहीबार, मधेस प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारास्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाउँपालिका वडा नं. १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिवार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङस्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रुपन्देहीस्थित परिवार नियोजन सङ्घको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधवार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिवार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलालीस्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैङ्कले जनाएको छ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैङ्कले लिएको छ।

ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.