काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।
२०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैङ्क बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ। बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
वार्षिकोत्सवका अवसरमा बैङ्कको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
“अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ। तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन् । सुरक्षालाई न्यूनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अङ्गीकार गर्ने हो,” उनले भने।
बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उनले बताए। नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कका नीतिहरूको परिपालन गर्दै जाँदा बैङ्क अहिलेको अवस्थामा आइपुगेको बताउँदै मिहिनेत र लगनशीलताले मात्र लक्ष्य प्राप्त हुने उनको भनाई छ।
सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताका कारण बैङ्क अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्क बनाउन आफ्नो तर्फबाट पुर्याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे।
यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।
रेग्मीले बैङ्कले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
१६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गरेको छ।
बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैङ्कका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन्।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.